काभ्रे विशेष

काभ्रेका प्रजिअ पोखरेल र उनको परिवारमा कोरोना संक्रमण, एक हप्ताकाे लागि अत्यावश्यक बाहेकका सेवा बन्द

बनेपा, । काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित उनका परिवारलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ पोखरेलकी श्रीमतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उहाँ र दुई छोरीले आईतबार स्वाव दिनुभएको थियो । प्रजिअ पोखरेलसहित उहाँकी १८ र १३ वर्षीया छोरीलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले कोरोना संक्रमण पुष्टि भए पनि आफु र दु वै छोरीमा कुनै पनि लक्षण नदेखिएको बताउनुभयो । उहाँले आफुहरुमा करिब एक हप्ताअघि सामान्य जिउ दुख्ने र रुघा लाग्ने भएपनि अहिले त्यस्तो कुनै समस्या नरहेको बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि प्रजिअ पोखरेलको परिवार होम आइसोलेसनमा बस्नुभएको छ । प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सोमबार विज्ञप्ति जारी गर्दै एक हप्ताको लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको छ ।

काभ्रेकी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँई (खतिवडा)ले कार्यालयका अन्य कर्मचारीमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएकोले एक हप्ताको लागि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएको बताउनुभयो । उहाँले मंगलबार कार्यालयका सबै कर्मचारीको स्वाब परीक्षणका लागि दिइने बताउनुभयो ।

यसैबीच सोमबार काभ्रेका थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार बनेपा नगरपालिकाबाट १४ महिला र २० पुरुष गरी ३४ जना, धुलिखेल नगरपालिकाबाट १९ महिला र १८ पुरुष गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पाँचखाल नगरपालिकाबाट तीन महिला र एक पुरुष गरी चार जना, मण्डनदेउपुर नगरपालिकाबाट तीन महिला र दुई पुरुष गरी पाँच जना, नमोबुद्ध नगरपालिकाबाट एक महिला र एक पुरुष गरी दुई जना र पनौती नगरपालिकाबाट चार पुरुष र चार महिला गरी आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार काभ्रेका ७७ जना कोरोना निको भई घर फर्केका छन् । काभ्रेमा हालसम्म एक हजार सात सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एक हजार दुई सय २६ कोरोना निको भई घर फर्केका छन् । काभ्रेका संक्रिय संक्रमितको संख्या पाँच सय २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *