समाचार

खुलेन रौतहटको सीमा नाका चाडपर्वको मुखमा पनि,किन???

विगत डेढ वर्षदेखि बन्द रहेको रौतहटको नेपाल–भारत सीमा नाका चाडपर्वको मुखमा पनि खुल्न सकेको छैन । सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि रौतहटको सीमा नाकामा भारतीय पक्षका कारण सवारी आवागमन हुन सकेको छैन ।

असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सीमा नाकामा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण कार्यान्वयनसहित आवागमन सुचारु गर्ने निर्णय गरेको थियो । तर भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले माथिबाट आदेश नभएको भन्दै रोकेपछि नाका खुला गर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

नाका खुल्न नसकेका कारण दैनिक सयौं मानिस गौर–बैरगनिया पैदल हिँडेर यात्रा गर्नु परिरहेको छ । चावपर्वमा भारतीय बजारमा किराना तथा अन्य उपभोग्य वस्तु खरिद गर्न ठुलो संख्यामा नेपाली जाने गर्दछन् ।

गौर भन्सार कार्यालयका प्रमुख सुशिल शर्माले गत शुक्रबारदेखि भारतीय सवारी साधनको राजश्व संकलनका लागि निर्देशन आए पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेकाले सवारी साधनहरु आउन नसकेको स्वीकार गरे ।

कोरोना महामारीको कारण २०७६ चैत ११ गतेदेखि बन्द रहेको सीमा नाका अब सञ्चालन हुने खबरले स्थानीयवासी उत्साहित भएका थिए । तर सरकारले निर्णय गरे पनि भारतीय पक्षले नाका खुला गर्न ढिलाइ गर्दा समस्या भएको हो ।

सीमावर्ती सीतामढी जिल्लाका पदाधिकारी सुनिल कुमार यादवले हालसम्म नेपाल–भारत सीमा खुलाउने भारत सरकारको लिखित आदेश नआएकाले ढिलाइ भएको बताए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सीमा नाका खुलाउनेबारे भारतीय सुरक्षा अधिकारीसँग पटकपटक कुरा भएको र प्रक्रिया पनि सुरु भएकाले एक हप्ताभित्र गौर र बंकुल नाका खुला हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *