पुरस्कार किनेर बोक्ने गरेको समाचारहरुले दुःखी बनाउँछ : सिन्धु पौडेल
पदमपुर –५ ,चितवन जन्मनुभई हाल भरतपुर –४, चितवन घर भुनुभएको रोजगारीको सिलसिलामा इजरायलमा रहदै आउनुभएको सिन्धु पौडेल निकै लामो समयदेखि साहित्य सिर्जनामा अनवरत लागिरहनुभएको छ । साहित्यका विविध विधामा कलम चलाउनुहुने साहित्यकार सिन्धु पौडेल विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको उपाध्यक्ष तथा साहित्यिक चौतारी इजरायल शाखाको सचीव समेत हुनुहुन्छ । उहाँसँग ’सुसन्देश’को लागि सुमित्रा सुमीले नुवाकोटबाट तयार पार्नुभएको साहित्यिक अन्तरङ्ग भलाकुसारी :
तपाईंलाई हार्दिक स्वागत छ
– हार्दिक धन्यवाद यो अवसर प्रदान गर्नु भएकोमा नुवाकोट साहित्य सँगमकी अध्यक्ष सुमित्रा सुमि ज्यु र “सुसन्देश “ परिवारप्रति ।
तपाई साहित्य लेखनमा लाग्नुभएको कति समय भयो ? साहित्य लेखनसँगै के मा व्यस्त हुनुहुन्छ अचेल ?
– साहित्यमा लागेको कति समय भयो भनेर यकिन साथ भन्न त ठ्याक्कै सकिँदैन तर साहित्यमा रुचि भने सानै उमेर देखि नै थियो, साहित्यको किताबहरु पढ्ने गर्थे र फाट्फुट लेख्ने पनि गर्थे बाल कविताहरु, र पछिल्लो समयमा म साहित्यमा लागेर लेख्न थालेको झन्डै एक दशक बितिसकेछ । ब्यस्तताको कुरा गर्दा परदेशमा छु पहिला त ड्युटीलाई नै प्राथमिकता दिनु पर्छ र बचेको समय निकालेर साहित्यिक किताबहरु पढ्ने र लेख्ने गर्छु र साथसाथै घरपरिवारलाई पनि समय दिन्छु ।
तपाईले साहित्य लेखनको क्रममा साहित्यका कुन –कुन बिधामा कलम चलाउनु भएको छ ?
– साहित्य लेखनको क्रममा मैले कथा ,कविता , मुक्तक र गीत नै हो।
० साहित्यलाई किन रोज्नु भयो ? जीवन र साहित्यको अन्तर सम्बन्ध कस्तो देख्नुहुन्छ ?
– साहित्यले जीवन बुझेर बाँच्न मद्दत गर्छ, अग्रज सर्जक हरुको साहित्यिक किताब हरु पढ्दा पढ्दै मलाई जीवन बुझ्ने प्रेरणा मिल्यो र साहित्यले मलाई यसरी तान्यो कि, के साहित्य बिना जीवन सार्थक छ र ? भन्ने लाग्यो र मैले साहित्य लाई रोजेँ तसर्थ साहित्य र जीवनको अन्तरसम्बन्ध भनेको एक – अर्काको परिपुरक हुन् र यौटा सर्जक स्रष्टा लाई साहित्यले कालजयी बनाउँछ, जसरि साहित्य आफैमा कालजयी हुन्छ ।
समाज रूपान्तरणमा साहित्यको भूमिका कस्तो रहला ?
–समाज रुपान्तरणमा साहित्यको भुमिका सधैं अग्रस्थानमा रहेको हुन्छ किनकि साहित्यको माध्यम बाट नै समाजमा मौलाएको कुसँस्कार र अन्धविश्वासको निराकरण गर्दै सकारात्मक सोचका साथ अगि बढ्न प्रेरणा मिलिरहेको हुन्छ जस्तो लाग्छ मेरो बिचारमा ।
साहित्यमा कलम चलाउनेहरु मध्ये परिमाणात्मक रूपमा जति लेखिएका पनि गुणात्मक रूपमा विकास हुन सकेका छैनन किन होला ?
– हो, अचेल साहित्यमा कलम चलाउने हरु अत्याधिक हुनुहन्छ, गुणात्मक रुपमा विकास नहुनुको कारण रहर, लहड र बिना अध्ययन आउनेहरुको भिडको कारणले नै गुणात्मक रुपमा साहित्य विकास हुन नसकेको हो कि जस्तो लाग्छ ।
साहित्यकारलाई दिने र साहित्यकारले लिने पुरस्कारको सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?
– अग्रज सर्जक हरुलाई म सधैँ सम्मान गर्छु,पुरस्कार तुलनात्मक रुपमा भन्दा पनि सर्जकको सिर्जनालाई गुणात्मक तरिकाले उचित मुल्यांकन गरि पुरस्कृत गर्नु राम्रो र प्रशंसनिय कुरा हो। यस्ले सहित्यिक सर्जक लाई उर्जाशिल बनाउँछ ,तर… अहिलेको परिप्रेक्ष्यमा कहिँ कतै विवादित खबर हरु सुनिन्छन् जहाँ साहित्यमा राजनिति घुसेको हुन्छ,पुरस्कार किनेर बोक्ने गरेको समाचार हरुले दुःखी बनाउँछ ।
तपाईको सिंगो कृति कहिले पढ्न पाउँछौं हामीले ?
– मेरो सिङ्गो कृत्ति २०७८ भित्रमै बजारमा आउँछ ।
कुनै साहित्यिक सँस्थाहरुमा आवद्द हुनुहुन्छ की ? तपाईं आवद्ध रहनुभएको साहित्यिक सँस्थाहरू के गर्दैछन अहिले ?
हो, म साहित्यिक सँस्थामा आबद्ध छु । विश्व नेपाली साहित्य माहासँघ शाखा ईजरायल र साहित्य चौतारी नेपाल शाखा ईजरायलमा आबद्ध छु र हाम्रो यो सँस्थाहरुले साहित्य प्रबर्द्धन र विकासका लागि प्रवासमा रहेर कलम चलाउनेहरुको राम्रो सँरक्षण गर्दै आईरहेको छ र साहित्यलाई बुझेर ,अनुसन्धान गरेर साहित्यमा कलम चलाउन चाहने नव सर्जक हरुको लागि यौटा सुनौलो अवसर दिने मन्च पनि हो ।
तपाईंलाई लेख्न प्रेरणा दिईरहने तत्वहरू के के छन् ?
– जीवन भोगाइका अनगिन्ती अनुभव हरु ,समाज र देशमा घट्ने गरेका राम्रा र नराम्रा घटना हरु र स्कुले जिवनमा पढेका बरिष्ठ साहित्यकारहरुका पुस्तकहरु जस्तै बिपि कोईरालाका ,सुम्निमा,नरेन्द्र दाइ,बाबू आमा र छोरा, पारीजातको शिरिषको फूल ,ध.च.गोतामेका घामका पाइला हरु,लैनसिँह वाग्देलका मुलुक बाहिर ,ईन्द्र बा.राईको आज रमिता छ, साथै म्याक्सिम गोर्कि को आमा, मिखाईल शोलोखोभका दोन नदि र मान्छेका भाग्यहरु, सबै लेख्न सकिँदैन यी पुस्तक हरु जो मैले पढे आज पनि मेरो स्मृतिमा ताजै छन् र सधै मलाई लेख्न प्रेरणा दिईरहने पुस्तक हरु हुन् । तर…..बास्तबमा भन्नू पर्दा म साहित्को बिद्यार्थी हुँ , सिक्दै छु ।
नारी स्रष्टा पुरूषको तुलनामा अगाडि आउन नसक्नुको कारण के होला ?
– यो कुरा मलाई स्विकार गर्न अलि असहज नै लाग्यो किनकि ,अहिले नारी स्रष्टा हरु पहिलाको तुलनामा धेरै अगाडि हुनुहुन्छ ,देश ,बिदेश बाट साहित्यमा कलम चलाउने नारी स्रष्टा हरु सकृय भएर आइ नै रहनु भएको छ।नारी र पुरुष सर्जक हरुको प्रतिस्पर्धा नै छ भन्न रुचाउँछु म चाहिँ ।
साहित्यलाई अनुत्पादक क्षेत्र भन्ने गरिन्छ नी ; तपाईलाई के लाग्छ ?
– यो आ– आफ्नो बुझाईमा भर पर्छ अहिलेको वर्तमान समयमा आाईपुग्दा पनि साहित्य लाई अनुत्पादक क्षेत्र भनिरहनु उचित हो जस्तो मलाई लाग्दैन,साहित्य कसरी अनुत्पादक? साहित्यले त मानिस लाई बाँच्ने उर्जा दिईरहेको हुन्छ नि हैन र? जब मानव सभ्यता बाँच्छ उस्ले उत्पादक कर्म गर्छ भने साहित्य कसरी अनुत्पादक,त्यसैले साहित्य लाई अनुत्पादक भन्ने हरुले साहित्य बुझेकै छैनन् ।
तपाईंको साहित्य यात्राका क्रममा भएका अविस्मरणीय पलहरु छन होला बताइदिनुस न ?
– थुप्रै अविस्मरणीय पलहरु छन् । मुख्यत मेरो साहित्यिक रचना प्रथम पटक प्रकाशन भएको क्षण नै हो जस्तो लाग्छ ।
अन्त्यमा तपाईलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?
– यो सु – अवसर प्रदान गर्नुभयो यस्को लागि सुमित्रा सुमि बैनी र सु सन्देश पत्रिका परिवार प्रति कृतज्ञ छु । साहित्यिक पुस्तकहरु पढ्ने बानी बसाल्नु आवश्यक छ किनकि लेखनको निम्ति अध्धयन अत्यन्तै आवश्यक हुन्छ ।
सुसन्देश सप्ताहिकमा प्रकाशित