श्रीमती र किताब
– कृष्ण प्रधान,
कितापको कुरा गर्ने बित्तिकै मलाई श्रीमतीको झल्यास्सै सम्झना
हुन्छ । यसकारण मैले किताप र श्रीमतीलाई दाँत र गिजाकै पर्यायमा राखेको छु । यौवनकालमा रोमाण्टिक उपन्यास पढ़ेर प्रेमिकाबारे एउटा विचार जन्मिन गर्दथ्यो । बिल्डिङको टुप्पोमा बसेर केशराशी खोलेर मलाई हेरिरहेकी होस् । झ्यालको पर्दा सामान्य खोलेर नजानिँदो पाराले मलाई चियाइरहेकी होस् । ऊ पल्लो गाउँकी पनि हुनसक्छे । ऊ मेरी सहपाठिनी पनि हुन सक्छे । जीवनको त्यो झर्झराउँदो यौवनकालमा उपन्यासको पानाबाट ठिङ्गै उभिने गर्थी मेरी काल्पनिका हृद्येश्वरी । वसन्तको याम हुन सक्छ । मेरी छिमेकी युवती टेरिसमा आएर मैतिर छड़्के आँखाले हेर्दै उभिएकी होस् । सुरिलो स्वरले गाएर मलाई
सुनावोस् । कितापदेखि जीवन टाढ़ा छैन । अक्षरकी प्रेमिकाले शरीर धारण गरेर मैदानको रुखमनि बस्न सक्छे । मैदानमा बसेर बदम खाँदै–खुवाउँदै हाम्रो भावी संसारको योजनाको म्याप वा ब्लु प्रिण्ट तयार पार्न अभ्यास गरिरहेको हुन्छु म । कवि शेलीको एण्टिना हुँ म । किट्सको ’ग्रिसियन अर्न’–को शरीरमा उत्कीर्ण जीवनलीलाको चरित्र हुँ म । म स्वीनबर्न हुँ । गुरुफ हातमा राख्ने जहाँगीर । बूढ़ा शहाजहाँ कदाचित् होइन म । यो प्रणयलीला कथङ्कल ट्रेजेडी भइहाल्यो भने पनि कुनै आपत्ति छैन मलाई । श्रीमतीको हबी किताप पढ़ेरै धित मार्छु । देवदासजस्तो बोतलभित्र पस्दिनँ म । तर मेरो प्रणयलीला कथङ्कल कमेडी भइहाल्यो श्रीमती लगायत केही कितापहरू पनि उपहारस्वरुप घरभित्र बस्नेछन् । तर हाम्रो समाजमा कुनै उत्सव, जन्मदिन, बिहे–बटुलतिर किताप उपहार दिने प्रचलन अहिलेसम्म
श्रीगणेश भएकै छैन भन्दा हुन्छ । नव–वरवधुलाई युटिलिटी गुड्स दिने फेशनै छ । राम्रो तीन लिटरको प्रेसर कुकर नभए पनि एउटा विशाल सुटकेश। नयाँ संसारमा चाहिने सामग्री ।
किताप र श्रीमती समन्वयतामै संसार चल्छ । सिरकमा खोल हालेजस्तो श्रीमतीलाई पनि चेप्टो पारेर कुनै पाराले खोलभित्र हाल्न सके मात्र पृथ्वीको एउटा श्रेष्ठ अलिखित किताप हुनेछ । किताप ज्ञानदायिनी ; श्रीमती पनि ज्ञानदायिनी । उठ्दा, बस्दा, हिँड़्दा, सुत्दा समेत पनि पल–पलमै ज्ञान । स्वभाव, आनीबानी संशोधन गर्ने रोचक तर तीतो टनिक । श्रीमती फर्स्ट च्यापटर नै हुनेछ – प्रेस । त्यसअघि सामान्य भूमिका, मधुर प्रेमालाप, प्रणय आदान–प्रदान । भनिन्छ वा भनिएको सुनिन्छ किताप पढ़
; भक्कु पढ़…बग्रेल्तै किताप पढ़ । जीवनका सबै कम्पलेक्स
निमिट्यान्नै हुनछ । त्यस्तै श्रीमतीको प्रवेश भएपछि जीवनमा सबै थोक एकेक गरी परिवर्तन हुन्छ । बेग्लै एउटा कोठा । सुन्दर ओछ्यान । ड्रेसिङ टेबल…विशाल ऐना । छेउमा लाम लागेर मौन उभिरहेका हुन्छन् । सौन्दर्यसाधनका सामग्रीहरू । एकपल्ट बिहे भयो भने जीवनभरि नै बिहै–बिहा ।अक्षरै अक्षरको भाषामा कितापले जसरी पाठकलाई आफ्नो कथाहरू न्यौछावर गर्छ त्यसरी नै श्रीमतीले पनि साड़ी, सलवार–कुर्ता आदि
पहिरनको भाषामा श्रीमतीले घरमा बजट खपतको वर्णमाला पति महोदयलाई न्यौछावर गर्छिन् । राम्रो सुन्दर उपन्यासजस्तै स्वयमलाई स्ट्याबिलिस्ड गरिरहेकी हुन्छिन्….अविराम….अहर्निश ।आरम्भमा घरभित्रै बसिरहन्छिन् । यसको अर्थ यो होइन कथ्का प्लट रोकिएको छ । किताप नामकी श्रीमतीले पहिले मूल पाठक (श्रीमान)–लाई चिन्न र बुझ्न खोज्छे । पहिले तिनको ब्रेन वास गरी संसारको कुरुक्षेत्रमा पति नामको श्रीकृष्णलाई सारथी बनाउँछिन् । केही वर्षभित्रै गीताको अमृतवाणीले तिन्दाङ पार्नेछिन् । धृतराष्ट्र ससुरा, गान्धारी सासू, भ्राता कौरवकुल । मध्य रातको सुनसान वातावरण प्रेम विनिमयको सुखद अवसरमा पति महोदयको टाउको मुसार्दै श्रीमती मिठाइलो स्वरमा बोल्छिन् –’’उतिष्ठित जाग्रत, क्यारियसित युद्ध गर, अनवाण्टेड आत्मीयजन जति छन घरभित्र ती सबैलाई छाँटेर,फ्याँकेर मिल्काइदेऊ । निट एण्ड क्लिन संसार, नो ओल्डवुम्यान….सबै ओल्डम्यान नैवच..नैवच । फ्लायट चाहियो, फ्रिज पनि, कुलर वाशिङ मेशिन पनि । भीसीआर, भीसीपी, स्टेरियो सिस्टम सबै घरभित्र हुनुपर्छ । चार चक्का नभए पनि दुइ चक्का नेसेसेरी । हजूरको एउटा मेल हेलमेट ; मेरो एउटा फिमेल हेल्मेट ।“
प्रत्युत्तरमा पति महोदय एरोप्लेन मुडमा बोलि पठाउँछ, “तिम्रो
मध्यप्रदेश (पेट)–लाई कल्टिभिटेड गरेर एटलास (दुइ जिउकी)
बनाऊ । जसलाई मैले च्याप्पै समातेर खेलाउन सकुँ । माझमा दुइवटा टोस्टमाझ मक्खनजस्तो हाम्रो विशेषाङ्क होओस् ।“
खासमा प्रश्न के छ भने, कितापले हामीलाई धेर उत्प्रेरित गर्छ कि
श्रीमतीले ? भनिन्छ, पेन इज माइटर द्यान द सोर्ड । हुन पनि सक्छ । त्यसबेला शायद त्यस्तै थियो । तर अहिले वाइफ इज माइटर द्यान द बुक । यसैले श्रीमतीलाई ठिकसँगले पढ़्न सकियो भने प्रत्येक लोग्ने मानिस प्रबुद्ध अदरवाइज बुद्ध ।
कोही श्रीमती ता कितापका साँच्चै किरा हुन्छिन् । जुन पुस्तकहरू पुरुषले पढ़्न पाउँदैनन् ती सबै पुस्तकहरू पनि तिनीहरू निर्विचार पढ़्छन् र त्यसबाट मनग्गे रस ग्रहण गर्छन् । गतिला मोटा कितापहरूसित तिनीहरू ठ्याम्मै तर्सँदैनन् । स–साना आकारका कितापहरू तिनीहरूले एक निमेषमै पढ़ी सिद्ध्याउँछन् । त्यो डरलाग्दो नशा हो, एडिक्सन । किताब नाककै छेउमा टाँसेर पढ़्नमा तल्लिन रहेकी श्रीमतीलाई स्लो मोशनमा @भन्नुपर्छ – ’’लु न एक चरण चिया खाइदिउँ न ।“ किताप पढ्नमा मस्त श्रीमतीबाट यतिमात्र सुनिन्छ, ’’….हूँ….।’’ सुस्तरी स्वरमा लोग्नेको स्वर, “आधा घण्टा भइसक्यो…. ।“ गम्भीर स्वर श्रीमतीको , ’’एकक्षण…एकक्षण….“ पति – “तिम्रो कितापले ता संसार डुबाइसक्यो । तिमी बिहानदेखि नै कितापमा टालेकी टालेकै छ्यौ । दूध त्यतिकै छ । मासु बिरालोले लैजाला । अफिस जाने टाइम भैसक्यो ।“ –– “हजूरलाई हतार छ भने आफै पकाएर खानू न अन्त ।“
बस् । जुन पतिकी श्रीमतीलाई कितापले भेटेको छ तिनको बाह्र बज्यो भन्दा हुन्छ । श्रीमतीहरू सिनेमाजस्तो कथा भएको किताप औधि मनपराउँछिन् । कथामा लभ एफेयर्स हुनैपर्छ । पात्र गरिब, पात्रा धनी होस् । यति भए भारी पुग्छ । पात्राका ड्याड रिसाहा, सन्के स्वभावका होस् ।
डायलग कड़ा लिकरजस्तो । प्रणयकालमा प्रेमि–प्रेमिकाको जीवनमा हुँड़ीबिड़ी मच्चियोस् । तर जस्तै आँधी–बेह्री आए पनि अन्त्यमा मिलन चाहिँ होस् । यस्तो प्रणयगाथाको उपन्यास भेट्टायो कि ता उपन्यासलाई चम्बकेलजस्तै ट्याप्पै पारी राख्छन् यी श्रीमतीहरू । यस्ता कितापप्रेमि श्रीमती काउसो हो । राति एकेक बजीसम्म पनि अध्ययनमा मस्त । स्कूले जीवनमा यसरी पढÞिदिएकी हुँदो हो ता स्टार कतै जाँदैन थियो ।
मध्य रातमा, ’“औ….सुत्दिनौ ?“ रकेटजस्तो जवाफ, “तिमी सुत । मलाई निद्रा लागेको छैन ।’’ट्यूब लाइटको उज्यालोले सुत्न पति महोदय सकेका छैनन् । श्रीमती उपन्यासको डिलमा पुगिसकेकी छन् । यस्तो अवस्थामा उनलाई बिच्काउन सकिँदैन । यसो गर्नु बारुलाको गोलामा हात हाल्नु जत्तिकै हो । उपन्यासको मूल नायक अनि मूल नायिका प्रणयको फाइनल स्टेजमा पुगिसकेका छन् । घर छोड़्नलाई दुवै एउटा ट्याक्सीमा चढ़ेका छन् । ड्राइभर बड़ो हेल्पफुल छन् । उपन्यासका दुवै पात्रहरू प्रेमको छालमा डुबेर पोखरा जाँदैछन् । नायिकाले घरबाट सुन, रुपियाँ–पैसा गुटमुटाएर ल्याएकी छन् । इण्ट्रेष्टिङ कथा । पोखरा नपुगिञ्जेल शान्ति छैन । कतै प्रहरीले चेकपोष्टमा पो रोक्ने हो’कि ! यस्तो च्यूँ–च्यूँ लाग्दो घटनाले किताप नसकिञ्जेल किताप छोड़नु मन कस्को लाग्छ र ?
किताप बाहेक अरु केही पनि नबुझ्ने क्रिमिनल टाइपका मानिसहरू पनि देखिन्छन् । ड्रग्स एÞडिक्टजस्तै बुक एडिक्ट । किताप किनेरै
खलिकपूर । टेबल, आलमारी जताततै कितापै किताप । अलिकति समय पायो कि कितापै लिएर बस्छन् । अचेल यति धेर कितापहरू छापिन्छन् जसलाई पढ़ेर पनि पढ्न सकिन्न । कितापले भेट्नेहरूको मन घर–संसारबारे कुनै सुर्ता हुँदैन । यस्ता किताप एडिक्टहरूकी श्रीमती रात–दिन बिच्किने गर्छिन । “ ५००÷ ५०० रुपियाँको किताप नकिनेर एउटा दामी सलवार–शुट ल्याइदिएका भए के हुनेथ्यो ?“ श्रीमतीको रातदिनको गनगन् – “माछा–मासु खाएको भए शरीरले केही पाउनेथ्यो । घिउ–दूध खाएको भए स्वास्थ्य राम्रो हुनेथ्यो । सलवार–शुट लाए सौन्दर्य
बढ़नेथ्यो…मानिसहरूल फर्की–फर्की हेर्ने थिए ।कन्फिडेन्सियल बढ्Þनेथ्यो । तर किताप पढ़ेर के हुन्छ ? आँखाबिग्रिन्छ, केश झर्छ । इण्डाइजेशन हुन्छ । साँच्चै भन्नु नै हो भने,किताप पढ़्नेहरू गरिब नै हुन्छन् । मानिस भएर उपयोगी हुनुपर्छ ।
जमीनको दलाली गर, इन्सुरेन्सको एजेण्ट होऊ, प्रोमोटर बन । माल बेच, आफैलाई बेच, गोल्डेन आइडियल्स लकरमा राखेर धन्दाको पृथ्वीमा हाई जम्प गर, पढ़ी गुनी के काम हलो जोती खायो माम् ।“
श्रीमतीको गनगन् सेलाउँदैन नसुतिञ्जेल ।
फेरि अर्का थरिका प्र्याक्टिकल श्रीमती यसरी गर्जिन्छिन्, “जति
मैला–कुचेला छन् ती सबै जलाइदिन्छु । प्लेटो, सक्रेटिस, सार्त्रे, कामु, काफ्का सबै ए ह्याण्डफुल डष्ट । हजूरको टाउकामाथि पारिवारिक छानु रहला के ? हजूरको पर्सनल लाइब्रेरीले हजूरको जीवनमा धेरै उतार–चढ़ावआउन सक्छ । बल्ड सुगर ४५० । प्रेसरको छुत्ति खेलाई । आँखामा जाली, डायबेटिस, हर्ट, किडनी ।“ गम्भीर स्वरमा पतिको गोहार, “डार्लिङ ! त्यसो भए तिम्रो सजेशन?“ श्रीमतीको दार्शनिकगिरी, “बुद्धिमानी जनावर हुनोस् हजूर । किताप मात्रे नकिनेर लटरी काट्नोस् । शेयर, युनिट किन्नोस् । ज्ञान अनन्त छ, जीवन सीमित छ । यसकारण अन्तिम जीवनको इन्सुलिनको व्यवस्था गर्नु नै ध्रुवज्ञान हो ।“ पति महोदय मनमनै भन्छन्, “श्रीमतीको कुरो ठिकै हो । यसलाई मैले आत्मभित्रबाट स्वीकारँ पनि बाहिर भने कदाचित् एडमिट चाहिँ गर्न सक्दिनँ । नत्र लाज हुन्छ । तर म मेरी श्रीमतीलाई मेरो जीवनको गाइड बुक मान्छु । जुन बुक सूत्र मेरो घिच्रामा झुण्डिएको थियो, उनी श्रीमती मेरा सप्पै कितापहरूमध्ये अब्बल किताप हुन् । युनिक एण्ड एक्सलेण्ट ।“ श्रीमती घुरेकी आवाज कोठाभरि रुमलिरहन्छ । सिलिगुड़ी (भारत) सुसन्देेेश साप्त्ताहिक बाट साभार