सन्दीपले लिए २ विकेट, तर हार्याे टिम
विमेश सापकोटा
क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाजले प्रतियोगितामा तेस्रो हार ब्यहोरेको छ। जमैका तलावाज बार्बाडोस ट्रिडेन्ट्ससँग ३६ रनले पराजित भएको हो।
बिहीबार बिहान १४९ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जमैका तलावाजले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रनमात्रै बनाउन सक्यो। उसका लागि नक्रुमाह बोनरले ३१, जर्मिन ब्लाकवोडले २८, मुजिब उर रहमानले १८ र चाडविक वाल्टनले १० रन बनाए। सन्दीपले नटआउट ४ रन जोडे। खराब सुरुवात गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सलाई शून्यमै गुमाएको थियो। २७ रन हुँदा चार विकेट गुमाएको जमैकाका कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।
जमैका तलावाज हार्नुको मुख्य कारण कप्तान रोभमन पावेल र आसिफ अलीको ब्याटिङ प्रदर्शन पनि हो। कप्तान पावेलले १२ बलमा ४ रनमात्र बनाएर आउट भए। त्यस्तै, आसिफले १० बलमा २ रन जोडे। त्यस्तै फिलिप्सले ५ बल खेल्दा एक रन पनि जोड्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ७ विकेटको क्षतिमा १४८ रन बनाएको थियो। उसका लागि कायल मायर्सले ८५ रन बनाए। उनले ५९ बलमा ८ छक्का र ३ चौका प्रहार गरे। त्यस्तै, मिचेल साट्नरले २० र कप्तान जासन होल्डरले १५ रन बनाए।
बलिङतर्फ जमैकाका मुजिब उर रहमानले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा १६ रन खर्चिएर २ विकेट लिए।
योसँगै जमैका तलावाजले ५ खेलमध्ये तीन खेलमा हार र दुई खेलमा जित हात पारेको छ।