समुदाय केन्द्रित सहकारीका रुपमा विकसित संस्था हो ज्योती मिर्मिरे

संस्थाको संक्षिप्त परिचय दिनुस न ?
संस्थाको नाम ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड हो । काभ्रे जिल्लाको पनौती नगरपालिका साविक ११ र हाल ६ नम्बर वडामा यो संस्था रहेको छ । २०५६ साल असार २७ गते ज्योतीबाट सुरु भएको थियो । २०६९ साल फागुन १९ गते तत्कालिन ४ वटा संस्था एकिकरण भएर आजको दिनसम्म आईपुग्दा बाह्र हजार सदस्यहरु रहनु भएको छ । ७४ करोडको हाम्रो ब्यालेन्स सिट रहेको छ । हाम्रो ५५ करोड ऋण लगानी रहेको छ । ५३ करोड बचत रहेको छ । संस्थागत पुँजी ५%(३ करोड ५० लाख) पुगेको छ । समुदायमा आधारित रहेर समुदायको व्यक्तिहरुको आर्थिक सामाजिक र व्यवसायिक परिवर्तनका लागि हामीले कार्य गर्दै आईरहेका छौ । हाम्रो संस्था सामाजिक दिगो व्यवस्थापन सहित चलको संस्था नै हो ।

लकडाउनको समयमा संस्थालाई कसरी विताउनु भयो ?
लकडाउन भनने बित्तिकै सबैमा एक खालको भयावहको स्थिती नै रह्यो । चैत्र ११ गतेदेखि १७ गतेसम्म संस्था पुर्णरुपमा बन्द नै गरियो । काम गर्ने सहज वातावरण रहेन । त्यस पश्चात् हामीले सदस्यको सेवाको लागि कार्यालयमा सम्पर्क व्यक्तिहरु तोकेर सदस्यहरुलाई सेवा दिन थाल्यौं । हाम्रो सबै सेवा केन्द्रका प्रमुखहरुलाई सम्पर्क व्यक्ति निर्धारण गरी कार्य सुचारु गर्न लगायौं । विश्व नै सक्रमणको अवस्थामा रहेको बेलामा सहकारी अभियानमा नै एउटा त्रासको अवस्था रहेको थियो । विस्तारै पहिलेकै अवस्थामा गएको देखिन्छ । सदस्यहरुलाई हामीले दिनपर्ने सेवामा भने हामीले कमी गरेका छैनौ ।

एकिकरणको कुरा जोड्नुभयो । मर्ज भएर अगाडि बढ्दा के कस्ता समस्याहरु आईपर्यो ?
एकिकरणको कुरा गर्नुपर्दा हामीले एकिकरण गरेको समयमा राज्यले सहकारीलाई एकिकरण गर्ने नीति नै आईपुगिसकेको थिएन । त्यो हुदा हुदै पनि हामी संस्थालाई मजबुद बनाउनका लागि हामीले मर्ज गर्यौ र त्यस समयमा नेपालको नै पहिलो र नमुना मर्ज भनेर हाम्रो संस्था चिनिएको थियो । त्यस समयमा हामीलाई एकिकरण पश्चात् जिल्ला सहकारी संघ, नेप्सुन जस्ता संस्थाहरुले सम्मान समेत गर्नु भएको थियो । समस्याहरु त हुने नै भए विभिन्न चार वटा संस्थाका संचालक, संस्थाको पुँजीलाई व्यवस्थापन तथा विविध खालका संस्थागत योजनाहरुलाई एकिकृत गरेर गर्ने कार्यहरुले गर्दा हामीलाई एकिकरण टुंगोमा पुर्याउन निकै कसरत गर्नुपरेको थियो । सबैभन्दा ठूलो समस्या भनेको संचालक समितिलाई मिलाउनु नै हो । संचालक समितिमा सबैलाई बस्ने ईच्छा हुन्छ तर, विभिन्न संस्था मर्ज हुदा यो संभावना भने रहदैन । सबैभन्दा सजिलो अवस्था भने त्यागको भावना हुनुपर्दछ । म होइन संस्था बनाउनुपर्दछ भन्ने भावना रह्यो भने संस्था मर्जमा ठूलो समस्या रहदैन । दिगो संस्था बनाउन सकियो भने सदस्यहरुले फाईदा लिन सक्दछन् भन्ने सोच्ने हो भने असहज नै छैन । संस्था एकिकरणबाट हुने फाईदा भनेको एउटै संस्था भएभने संस्थाका खर्चहरु एउटै संस्था भएपछि कम हुने भयो । दिने सेवाहरु पनि बढ्ने भए, कार्यक्षेत्र बढ्ने भए, सदस्य वृद्धि हुने भएका कारणले एकिकरण नै संस्था बलियो बनाउने आधार हो ।

ज्योति मिर्मिरे सामुहिक साकोसले गरेको सबैभन्दा राम्रो कार्य भन्नुप¥यो भने के भन्नु हुन्छ ?
ज्योति मिर्मिरे सामुहिक साकोस व्यक्तिको जन्मदेखि मृत्युसम्मको सेवा दिने समुदायमा आधारित सहकारी हो । यसमा बच्चा जन्मिएको ११ दिनदेखि मृत्युको १३ दिनको कृयाकलापसम्म नै ज्योति मिर्मिरे शेयर सदस्यहरुको साथमा उभिरहेको हुन्छ । बच्चा जन्मदाको समयमा सुत्केरी भेटघाट, शिक्षा कसरी दिने भन्ने विषयको चिन्तन, युवा अवस्थामा तालिमका कुराहरु भए, सिप सिकाउने कृुराहरु भए, सिप सिकेपछि लगानीका कुराहरु भए, सदस्यहरुले उत्पादन गरेको सामाग्रीलाई विक्रि गरिदिनेसम्ममा ज्योती मिर्मिरे रहेको छ । महिलाहरुका लागि सिप सिकाउने कुरा, आत्मनिर्भर बनाउने कुरा, स्वाभलम्बी बनाउने कुरामा समेत ज्योती मिर्मिरे रहेको छ । जेष्ठ नागरिकको कुरामा गरिने सम्मान रहेको छ । मृत्युपश्चात् परिवारलाई दिने राहत, समवेदनाका कुरासम्म ज्योति मिर्मिरे साथिको रुपमा रहेको छ । सुख र दुःखमा समेत ज्योति मिर्मिरे छ भन्ने हामीले दिएका छौ र सदस्यहरुले मान्नु पनि भएको छ । जन्मेदेखि मृत्युसम्मै साथ रहेने संस्था ज्योति मिर्मिरे मात्रै रहेको छ ।

धेरै सदस्य रहेको संस्थामा सदस्यहरुको मागलाई सम्बोधन कसरी गर्न सकिएला ?
सदस्यको चाप बृद्धि हुदै जादा, सदस्यहरुको आवश्यकताहरु पनि बृद्धि हुदै जाने गर्दछ । हामीले ३ कुरालाई पन्छाउने गरेका छौ नीति, विधि र प्रविधि । सुसासनमा भएको संस्थालाई समस्या भने आईपर्दैन किनभने त्यहा व्यक्तिले संस्था चलाउदैन विधिले चलाईरहेको हुन्छ । सदस्यता बृद्धिदर र सम्पत्ति बृद्धिले नै समस्या हुने भने होइन । केहि कुराहरु समयले पनि सिकाउने गर्दछ लकडाउनले प्रविधिको प्रयोग गर्न सिकायो । नीति, विधि र प्रविधिमा कार्य गर्दा कुनै पनि अफ्टारो आउने कार्य हुदैन ।

संस्था यस अवस्थासम्म आईपुग्दा ठ्याक्कै तपाईको सहयोग चाहि के हो ?
एक व्यक्तिको सहयोगले मात्रै संस्था यस अवस्थामा आईपुग्दैन । म एक प्रतिनिधि पात्र मात्र हु । संस्थालाई यस अवस्थासम्म पु¥याउनमा संस्थाका पदाधिकारीहरु, सदस्यहरु सम्मको सहयोग भने रहेको हुन्छ । समुदायमा आधारित संस्थामा व्यक्ति केहि पनि होइन । व्यक्ति प्रमुख कुरा होइन नीति, विधि र प्रविधिलाई टेकेर नै सम्पुर्ण कुरा हुने गर्दछ । सहकारीको सन्दर्भमा भन्नुपर्दा साधारण सभा, त्यसपछाडि संचालक समिति, उपसमिति र व्यवस्थापन बराबरको हैसियतमा रहेको हुन्छ । त्यसकारणले सदस्यको आवश्यकता के हो ? सदस्यहरुको आर्थिक सामाजिक, वातावरणीय, आयआर्जनको कुरामा परिवर्तन कसरी ल्याउने भन्ने नै सहकारीको मुख्य ध्यान हो । सहकारी त मेडियटरको कार्य मात्रै गर्ने गर्दछ । सदस्यहरुको आवश्यकतालाई हेरेर नीति विधि र प्रविधि वन्छ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो ।

पनौतीको मात्रै नभएर जिल्लाको सफल साकोसको रुपमा रहेको छ भन्ने सुनिन्छ बैंकहरु बराबरको सेवा दिने स्तरमा पुग्नका लागि के कस्ता कार्य गर्नुपर्ला ?
काभ्रे जिल्ला सहकारीहरुको उर्बर भूमी नै हो । यहाँ धेरै राम्रा राम्रा अन्य संस्थाहरु पनि रहेका छन् । सदस्यको आवश्यकता परिपुर्ति गर्ने, समुदायको आवश्यकतालाई महत्व दिने नै हाम्रो मुख्य कार्य हो । ७६÷७७ मा नेफ्सुनले गर्ने मुल्यांकनमा बागमती प्रदेशकै उत्कृष्ट संस्था भने भएको छ । यसमा सबैको भूमीका रहेको छ संचालक समिति, सदस्य, कर्मचारी, मिडिया सबैको रहेको छ । हाम्रो छाता संगठनको सहयोग र समन्वयका कारणले नै यो अवस्था रहेको छ । बैकहरु भन्दा पनि सहकारीले दिने सेवा निकै फरक हुन्छ हामीमा पूँजीको अभाव हुन दिएका छैनौं । आय आर्जन, रोजगारीका लागि सहुलियतमा ऋण प्रदान गरेका छौं । सूतो व्याजदरमा सदस्यहरुले सेवा प्राप्त गरेका छन् । बैंक र सहकारीमा तुलना हुनै सक्दैन नी ।

एक व्यक्ति, एक सहकारी भन्ने नीति सरकारले यतिबेला ल्याएको छ यो ठिक कि बेठिक ?
सहकारी ऐन २०७४ कार्तिक १ गतेको सहकारी ऐनमा नै रहेको कुरा हो एक व्यक्ति, एक सहकारी । यस विषयमा विरोधाभाष पनि भईरहेको छ । यसको अवधि सकिदै गरेको कारणले नै हामीलाई बढि चासो भएको अवस्था देखिएको छ । मेरो व्यक्तिगत धारणा भन्नुपर्दा सुन्दा र भन्दा यो एकदमै राम्रो हो तर, व्यवहारमा ठ्याकै लागू गरिहाल्नसक्ने अवस्था रहेको छैन । यसका अप्ठ्याराहरु के के रहेका छन् भने एक स्थानिय निकायमा एउटा मात्रै संस्था रहने भन्ने विषय ऐनमा उल्लेख छ हाम्रो संस्था ५ वटा स्थानिय निकायमा सेवा केन्द्र सहित रहेको छ । यसमा बनेपामा रहेको संस्थामा सदस्य बन्न नपाउदा पनौतीमा पाउने कि नपाउने भन्ने उल्लेख रहेको देखिदैन ।

ज्योति मिर्मिरेमा सदस्य बन्न चाहादा चाहादै पनि २ ३ वटा संस्थामा ठूलो ऋण रहेका सदस्यको एउटै संस्थाले ऋण दिन नसकेको अवस्थामा सदस्य छोड्न पर्ने कि के गर्नु पर्ने भन्ने विषय पनि उल्लेख रहेको छैन । व्यक्तिको बचत थर्न पाउने नैसर्गिक अधिकार हनन हुने हो कि भन्ने कुरा आएको छ सरकारको खुकुलो नीतिले यस कार्य गर्नसक्ला जस्तो लाग्दैन ।

बेला बखत सहकारी संचालकहरु भागेको र सहकारी बन्द भएको घटनाहरु आईरहन्छन् । त्यस्ता घटनाहरुले तपाईहरु जस्तो सफल सहकारीलाई कस्तो असर गर्दछ ?
महत्वपूर्ण प्रश्न गर्नु भयो । सहकारीको मुख्य समस्या नै यहि भएको छ । एउटा सहकारीका संचालकहरु भाग्छन् र त्यसको दोष ३५००० सहकारीलाई परेको अवस्था छ । सदस्यहरुले एउटा भाग्दा सबै भाग्ने पो हो कि भन्ने डरमा रहेको देखिन्छन् । एक संस्थाले गरेर सम्पुर्णलाई असर गरेको देखिन्छ । नियमन गर्ने निकाय सक्रिय हुनुपर्ने आजको आवश्यकता हो भन्ने मलाई लाग्छ । विश्वासको संकट बेला बखत सहकारीमा देखिने गरेको छ । दर्ता जसलाई पनि गर्ने नियमन नगर्ने गर्दा यो समस्या देखा परेको हो ।

सहकारी विभागको सन्दर्भ ब्याजदरको विषयमा के भन्नु हुन्छ ?
हाम्रो संस्थाको नै कुरा गर्ने हो भने सबैभन्दा अधिकतम ब्याज नै १४% रहेको छ । यसकारण हामी अझै ०.७५% कम मा नै ऋण लागनी गरिरहेका छौ । समुदायमा आधारित सहकारीका लागि यो एकदमै सकारात्मक पक्ष हो राज्यको । किनभने सदस्यको आवश्यकताको परिपुर्तिको लागि २१% सम्म ब्याजदर दिएर त हुदैन । हामी उद्यमशिल बनाउछु भन्ने, स्वरोजगार बनाउछु भन्ने, सहकारीबाट आर्थिक अवस्थामा मजबुद बनाउछु भन्ने व्याजदर चाहि मनलाग्दी लिने भन्ने जरुरी छैन । सेवा शुल्कको विषयमा पनि चर्चा हुन जरुरी रहेको छ र नियमन गर्न समेत आवश्यक रहेको छ । यसले मात्रै सदस्यको आर्थिक बृद्धिदरमा आउनसक्छ ।

अनुगमन र नियमनमा पनौती नगरपालिका कस्तो रहेको देख्नुभएको छ ?
अन्य पालिकाभन्दा पनौती नगरपालिका अगाडि हो कि भन्ने अवस्था देखिन्छ । लकडाउनको समयमा पनि सहकारी नीति तथा कार्यक्रम बनेको थियो । साधारणसभा सम्बन्धि निर्देशिका पनि पनौतीले नै अरु पालिका भन्दा पहिला निकालेको छ । तर, नियमन नै भनेर केहि गरेको अवस्था छैन । भर्खरै स्थानिय तहलाई दिएको कारणले हुने क्रममा होला भन्ने आशा गरौ । अहिले नै गरेको अवस्था पनौतीको छैन । तर, क्रियशिलता हेर्दा यस कार्य पनौतीले गरेको देखिन्छ ।

आफुलाई अभियानकर्ता भन्न रुचाउनु हुन्छ ?
अभियानकर्ता भन्दा पनि अभियानको एक पात्र भन्न रुचाउछु । अभियानकर्ताकै रुपमा सहकारीको नीति नै परिवर्तन गर्न सक्ने क्षेत्रमा म नभएको कारणले गर्दा अभियानका पात्र भन्न रुचाउछु । सहकारी संस्थाको नेतृत्वकर्ताहरुले बनाउनुभएको नीति र विधिलाई कार्यान्वयन गर्ने क्षेत्रमा भने हामी पर्दछौ ।

आय आर्जन र रोजगारीका लागि के कस्ता कार्यहरु भए ?
ऋण लिदा नै व्यक्ति धनि हुने हो किनभने जसले ऋण लिन्छ उसले उद्यम गर्छ, उद्यमशिल र रोजगार बन्छ भन्ने धारणा हामी राख्दछौ । ऋणी भएर व्यक्ति गरिब हुदैन भन्ने हाम्रो बुझाई हो । पहिलो कुरा कस्तो क्षेत्रमा ऋण लगानी गर्ने भन्ने परामर्श लिन जरुरी रहेको छ । ऋण लिईसके पछाडि सदस्यको आवश्यकतामा कुल्चिएर कार्य भयो भने सदस्यहरुको र संस्थाकै आर्थिक अवस्थमा सुधार हुने गर्दछ । आवश्यकताको पहिचान गर्दै सिप सिकाउने कार्य ज्योती मिर्मिरेले गर्दछ । पहिले हामी सदस्यको आवश्यकता के हो भनेर फारम भराउछौ त्यस पछाडि हामी त्यो आधारमा तालिम संचालन गर्दछौ । तालिससँगै सिप सिकाउने, सिप सिकेर उद्यम संचालनमा ऋण लगानी गर्ने र त्यस सदस्यले उत्पादन गरेको वस्तुलाई बजारमा लगेर बेचिदिनेसम्मको कार्य हामीले गरिरहेका छौ । जिल्ला सहकारी संघले एउटा क्रान्तिको कार्य पनि भर्खरै गरेको कारणले संघप्रति हाम्रो आशा पनि बढेको छ ।

 

सम्पन्नता स्तरीकरणको कार्य केहि सहकारीले गरेको देखिन्छ । त्यो कार्य ज्योति मिर्मिरे सामुदायिक साकोसले गरेको छ या छैन ?
हाम्रो बार्षिक योजनाहरु सदस्य केन्द्रित बन्ने गर्दछ । त्यसलाई मासिकमा खण्डिकरण गर्ने र फेरी दैनिकमा खण्डिकरण गरेर हामीले कार्य गरिरहेका छौ । सदस्यको स्तरको हामीले २ बर्षको समय मापण बनाएका छौ । आज सदस्य बनेको सदस्यले २ बर्ष पछाडि सफल हुने कि नहुने भन्ने विषय पनि हामीले मापण गरिरहेका छौ । मापन गर्ने निकाय कुन र के के आधारमा मापन गर्ने भन्ने हामीले छलफल गर्दै गरेका छौ । संस्था सधै चल्नका लागि हामीले कार्य गरिरहेका छौ र त्यसको अन्तिम चरणमा हामी रहेका छौ । विभिन्न वर्गका लागि विभिन्न खालका योजना हामीले बनाईरहेका छौ । जसको डाटा हामीले संकलन गरिरहेका छौ ।

अन्तमा मिडियामार्फत के भन्न चाहानुहुन्छ ?
मलाई ज्योति मिर्मिरे सामुहिक साकोसको विषयमा केहि भन्ने मौका दिनुभएकोमा सहकार्य मिडियालाई विषेश धन्यवाद व्यक्त गर्न चाहान्छु । सहकारीको महत्व बुझाउने विषयमा मिडियाको ध्यान जाओस । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *