साहित्य र प्रेमको सम्बन्ध भनेको दाल भातमा अचार जस्तै हो : डा. गोपाल पौड्याल “मण्डने“
सह अध्यक्ष,नेपाली साहित्य विकास परिषद, युके
काभ्रेको मण्डन देउपुर नगरपालिका वार्ड नम्बर –८ जन्मेका डा. गोपाल पौड्याल “ मण्डने“पेसामा कवि,लेखक,साहित्यकार तथा स्वतन्त्र पत्रकारिता संग्लन हुनुहुन्छ । यति नेपाली एसोशियसन युके,संस्थापक सचिब तथा सह–अध्यक्षःनेपाली साहित्य विकास परिषद् युकेआजिवन सदश्य हुनुहुन्छ ।
उहाँले NLDC साहित्य पुरस्कार, ,साहित्य पत्रकार संघ नेपाल, विश्व नेपाली गोर्खा सेवा केन्द्र नेपाल, राइटर्स क्लब नेपाल, चन्द्रावती युवा क्लब काभ्रे, यति नेपाली यसोशियसन युके, ह्युमन राइट्स फर अल नेपाल, शान्ति विकास अभियान नेपाल, गोर्खा समाज सेवा केन्द्र नेपाल, एकीकृत विकास केन्द्र नेपाल ११–Britain Nepal business socaity UK, @– International Accademic Forum,१३– काव्य गुन्जन नेपाल लगायत स्थानबाट सम्मानित भने उहाँका प्रकाशित कृतिहरुमा एक समय अनेक चिन्तन मुक्तक सङ्ग्रह १९८५, जोइटिङ्ग्रे सम्पूर्ण हास्य नाटक १९८५,खुस्मअ पूर्णाङ्की नाटक १९८५ , शान्ति र सृजना पूर्णाङ्की नाटक १९८७,संघर्षका क्षणहरू कविता सङ्ग्रह १९९०, बेलायती सन्देश कविता सङ्ग्रह १९९२ ( डायोस्पोराको पहिलो काव्य कृति ), , Journalism for Journalist 2002, चिट्ठी लेखी गीति एल्बम २००२ लगायत दर्जनौ पुस्तक प्रकाशन भएका छन् । उहाँ सगँ साहित्यकार सुमित्रा सुमीले गर्नु भएको भलाकुसारी
आजकल के गर्दे हुनुहुन्छ ?
आजकल त म N–Theory को लागि अध्ययन, अनुसंधान र लेखन कार्यमा लागेको छु । राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक जर्नलहरुमा लेख लेख्न धेरै श्रोत र श्रम लाग्दछ । पत्रपत्रिकामा पनि राजनीति सम्बन्धी लेख लेखिरहेछु । साहित्यतर्फ कविता, गीत ,गजल,कथा,मुक्तक र हाइकु लेख्दा बढी आनन्द आउँछ । मैलेJournalism को पुस्तकहरु पनि लेखेकोछु जस्लाइ रेफ्रेन्स को रुपमा पढाइ हुन्छ ।1– How to be a Freelance journalist,2– Mirror of the Journalist, 3– Journalism for Journalist, Art and Artist MPhill काे लागी Research Skills भन्ने लेखेको छु भने पि एच डिको लागि How to write PhD Thesis भन्ने बुक लेखेकोछु । उत्तर आधुनिक अर्थात् बिनिर्माण काब्यचेतनाले पनि प्रभावित छु । बञ्चित श्वर अनि अर्थ खोज्दैछु ।
चार महिना भो दुबई आएको नेपालमा हुदा उही कम्प्यूटरमा फायल सेभ क्लीक गर्न नभ्याई लोडसेडिङ्गले डिलिट गरेका सफलताका कथाहरू सम्झेर लेख्दैछु । मैले देखेको युरोप भन्ने पुस्तक पनि लेख्दैछु । एउटा माहाकाब्य पनि आदि सकेको छु । दुबई आइकन दुई वटा खण्डकाब्य सके।लकडाउनले फुर्सदिलो बनायो त्यस्को सदुपयोग गरे ।
साहित्य क्षेत्रमा लागेको कति भो ?
म साहित्य क्षेत्रमा लागेको त धेरै नै भो मेरो पहिलो कृति “एक समय अनेक चिन्तन“ मुक्तकसङ्रह निस्केको २०३८ सालमा हो । केही लेख्न अध्ययन र अनुभव चाहिन्छ । उ बेलामा म नाटक लेख्ने निर्दशन गर्ने र अभिनय समेत गर्ने गर्थे । साथसाथै साहित्यको अध्ययन तथा अनुभवले मलाई आत्मविश्वास, दृष्टिकोण र सिर्जनशीलता दिएको छ । जीवन र जगतलाई बिभिन्न कोणबाट हेर्ने, देख्ने, भोग्ने र लेख्ने प्रयास स्वरुप आजसम्म लेखिरहेछु ।
साहित्यलाई अनुउत्पादक क्षेत्र भन्छन नी ? तपाईको बिचारमा के हो ?
त्यो त हो तर अनुपादक भनेर हामिले लेख्नै छोड्यौ भने आउदो पुस्तालाई अन्याय हुन्छ । साहित्यमा लाग्ने मान्छेलाइ साहित्यमा लाग्दा एउटा अबोध वालकलाई खोप लगाउँदा एउटा कविता लेखे जत्तिकै आनन्द आउँछ । पेशाबाट पनि आनन्द लिन सक्नुपर्छ । सन्तुष्टि पाएको पनि छु । मलाइ हरेक दिन थप अभिब्यक्ति र सन्तुष्टिको निम्ति मेरो अन्तरआत्मा साहित्यिक वातावरण खोजिरहेछ झै लाग्छ ।
परिवारबाट कत्तिको सहयोग छ ?
छ, मेरो २–३ वटा पुस्तक हरुको प्रकाशक नै मेरो श्रीमती छिन । एउटा पुस्तकको भाइछ । बुबा आमाको छोराछोरिहरुको भाइ कश्यप र रामको सबैको साथ र सहयोग छ। हामी तिनै भाइ लेखक हौ ।
तपाई एक राम्रो गीतकार हुनुहुन्छ, गीत र कवितामा के अन्तर छ ?
मलाई लाग्छ गीतमा हृदय भेटिन्छ । संगीतमा इश्वर छामिन्छ । कवितामा आत्मा बोल्दछ । अनि कथामा मष्तिष्क र मन खोलिन्छ ।
तपाई आफू कवि कि गीतकार ?
म एक पाठक वा नेपाली साहित्यको विद्यार्थी हुँ । एक अनुसन्धाता तथा सधैं सिकिरहन खोज्ने एक र्सजक हुँ ।
तपाई ब्यापारको महत्वपूर्ण भुमिकामा हुनुहुन्छ । ब्यापारले लेखनलाई कत्तिको असर पारेको छ ?
जनताको हकहित कसरी सम्मान गर्नसकिन्छ भन्ने आफ्नो तर्फबाट सोच्दछु । व्यापार आफ्नो ठाउमा छ।यस्ले मलाइ सामाजिक प्रतिष्ठा दिएकोछ।यदि व्यापार नभएको भए मेरा दुई दर्जन भन्दा बढी पुस्तक बजारमा आउदैनथिए।मेरा पचास जति तित रेकर्ड हुनै सक्दैनथिए।त्यसैले मानिसका मर्मलाई ब्यवहारमा उतार्न आफ्नो ज्ञान र सीपको प्रयोग गर्दछु ।
सामाजिक न्यायको लागि सकेसम्म लडिरहेछु । तापनि आफ्ना सीमा र समस्या हुन्छन् । भने जस्तो चाहे जस्तो सबै काम गर्न सकिदैन । यसबेला असन्तुष्टि कतै पोखु झैं लाग्छ । सकभर तथ्यपरक बैज्ञानिक प्रतिवेदन वा लेख लेख्छु । सबै सत्यका तथ्याङ्क भेटिदैनन् । यसबेलामा म साहित्यको साहारा लिन्छु र सिर्जना गर्दछु । त्यसैले मेरो पेशा र साहित्य आपसमा सहयोगी छन् ।
नेपाली साहित्यमा बिधा छन,तपाईलाई मन पर्ने बिधा कुन हो ?
मलाइ मन पर्ने बिधा त मुक्तक र कविता नै हो तर मेरो प्राय सबै जसो बिधामा कलम चल्छ ।
यहाँका रचनामा स्थानीय शब्दहरू हुन्छन् किन?
कोही लण्डनको थेम्स नदीको किनारमा बसेर कविता कोर्छन् मैले पनि लेखेकोछु कुनै दिन तर मैले चाखोला ,इन्द्रावती,बागमती र आसिखोलाको किनारमा बसेर लेखेकोछु । कोही प्रिन्सेस डायनाको प्रेम र शुन्दरताको वर्णन गरेर अघाउदैनन् म यता बोक्सी, छाउपडी प्रथाबाट प्रताडित महिला, कल्महरी ,बादी , कमला पन्त जस्ता पीडित बालिकाको कथा ब्यथा लेखेरै भ्याउँदिन । कोही शेक्सपियरको पात्रसित कुरा गर्छन म हिमाल पहाड तर्राईका शर्मा सेर्पा थारु र्राईसित कुरा गर्छु । यसैले होला ।
कविता र गीत लेख्न कुन सजिलो हुन्छ?
गीत लेख्न सजिलो लाग्छ । तर कविता लेखेपछि बढी आनन्द आउँछ ।
नेपालको बर्तमान कविता साहित्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
आज साहित्य उत्तरआधुनिक कालमा प्रवेश गरिसकेको छ । अब साहित्यमा विज्ञान, सूचनाप्रविधि, समाजशास्त्र, मानवशास्त्र, तथ्याङ्कशास्त्र, अर्थशास्त्र, सगीत, कला र दर्शन जस्ता बहुआयामिक विषयको प्रवेश अपरिहार्य भैसकेको छ । साहित्यकारहरुमा पनि ती क्षेत्र र विषयवस्तुको अध्ययन र ज्ञानको आवश्यकता छ । केवल साहित्य मात्र पढेर उपयोगी साहित्य सिर्जना हुन सक्दैन भन्ने मलाइ लाग्दछ । किनभने साहित्य साधन र साधना दुवै हो ।
डायोस्पोराको मोफसलमा बसेर पनि तपाइ निकै चर्चामा हुनुहुन्छ । यसको रहस्य के होला ?
समालोचक र पाठकले “जीवन मेरो शब्दकोशमा” कवितासंग्रह र हालको मेरो लेखनलाई नौलो, मौलिक र विशिष्ठ प्रयास ठानेका छन् ।
साहित्य सिर्जना गर्दा के कस्ता पात्र वा विषयवस्तुले प्रभाव पार्दछ ?
मेरा पात्र वा विषयवस्तुमा “तीन म” छन् । १. म २. माटो र ३. मानवता । पहिलो ‘म’ भन्नाले स्वयम् म तथा हामी । दोश्रो ‘म’ भन्नाले माटो, देश र आमा हुन् । तेश्रो ‘म’ भन्नाले मानवता अर्थात प्राणीजगतको आत्माको आवाज नै मेरा पात्र र विषयवस्तु हुन् । म सीमान्तकृत स्वरलाई साहित्यको ध्वनिमा घन्काउन चहान्छु ।
डायोस्पोराको साहित्यलाई कसरी हेर्नु हुन्छ ?
डायोस्पोरामा साहित्य श्रीजना गर्न सजिलो पनि छ र महा कठिन पनिछ।सजिलो यो मानेमा छ कि बिदेशमा कामको लोड ,टेन्सन,घरको सम्झना,देशको माया,परिवारको सम्झना,चाड्पर्बको सम्झनाले मन मुटु देखि नै शब्दहरी कापिमा पोखिन्छन।जो कोहि पनि साहित्यकार बन्न सक्छ तर मनमा मस्तिष्क मा खेलेका कुराहरुलाइ कापिमा लिपिबद्ध गरेर लेख्ने फुर्सद सबैलाइ हुदैन पनि।त्यसैले सबैले लेख्न पनि सक्दैनन। जो आजसम्म म केन्द्र हुँ अर्थात् म नै सत्ता हुँ भन्नेलाई आज परिधिले भकाभक ढाल्दैछन् । केन्द्र र डायोस्पोराको सीमारेखा मेटिदैछ । संसारमा छरिएका कविहरू इन्टरनेट मार्फतआफ्नो कविता अर्थात विचार उद्घोष गरिरहेछन् । विज्ञानप्रविधिको विकास, विश्वब्यापिकरण वा उदारिकरण र विश्वमा उदाएको उत्तरआधुनिक युगले सबैलाई समान अवसर दिएकोछ जो लिन सक्नुपर्छ । साहित्यमा म डायोस्पोराको हौ भनेर कसैले हीनताभाव राख्नु अनि म केन्द्र हुँ भनेर कसैले दम्भ पाल्नु हुदैन ।
यहाँको भावी योजना के छ ?
निरन्तर अध्ययन, साधना, लेखन गर्ने र हरेक बर्ष प्रकाशन गर्दै जाने योजना छ ।
साहित्य र प्रेम बीचको सम्वन्ध के लाग्छ ?
हा हा हा साहित्य र प्रेमको सम्बन्ध भनेको दाल भातमा अचार जस्तै हो । अचार भए दालभात मीठो हुन्छ नत्र हुन्न । त्यस्तै साहित्यमा प्रेम भए साहित्य मीठो हुन्छ नत्र खल्लो हुन्छ ।
मन पर्ने साहित्यकार कुन हो ?
सेक्स्पियर,देवकोटा र बिपि कोइराला हुन ।
मन पर्ने पुस्तक कुन हो ?
Prof=Noam Chomskey काे Who rule the world हो ।
साहित्यलाई अहिले कसरी नियाली रहनु भएको छ ?
नेपाली साहित्य बेला बेलामा बिबादित हुनेगर्छ । कहिले भाषाको बिबाद कहिल्य साहित्यिक नियम को बिबाद यस्तो नहोस र हुनुहुन्न भन्न चाहन्छु । साहित्यको बिद्यार्थी भएको हुदा साहित्यलाइ नजिकै बाट नियाली रहेको हुन्छु म ।
साहित्य तपाईको अर्थ के हो तपाइको दृष्टिकोणमा ?
ओह हो धेरै गहन प्रश्न सोध्नु भो त साहित्य भनेको संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ–
१. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो ।
२. ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले युक्त भाव नै साहित्य हो ।
अंग्रेजी भाषामा ‘साहित्य’ का सट्टामा ‘लिटरेचर’ शब्दको प्रयोग गरिन्छ । ‘लिटरेचर’ शब्द ल्याटिन भाषाको ‘लिटेरा’ बाट निर्माण भएको मानिन्छ । पश्चिमा जगतमा साहित्यका अर्थ दुईथरी छन्–
१. सामान्य अर्थः जसले समग्र लिखित बाङ्मय, विज्ञान, राजनीति, अर्थशास्त्र, समाजशास्त्र आदिलाई बुझाउँछ । आजको सन्दर्भमा यो अर्थ लाग्ने गरी ‘साहित्य’ शब्दको प्रयोग हुन लगभग छाडिसकेको छ ।
यद्यपि ‘लिटरेचर रिभ्यु’ अर्थात् ‘पूर्वकार्यको समीक्षा’ भनेर अनुसन्धान प्रतिवेदन तथा शोधपत्रहरुमा यस अर्थमा यदाकदा ‘साहित्य’ शब्दको प्रयोग हुने गरेको पाइन्छ ।
२. विशेष अर्थः पश्चिमा जगतमा ‘साहित्य’ भन्नाले कल्पनाको प्रयोग गरी विशिष्ट शैलीमा लेखिएका कृति वा रचनालाई बुझ्ने गरिन्छ ।
उपरोक्त अर्थका आधारमा साहित्यअन्तर्गत मूलतः काव्य, आख्यान, नाटक र निबन्ध गरी मुख्य चार विधा तथा तिनका उपविधा पर्दछन् । आदिकालमा संस्कृत आचार्यहरुले यी चारै विधाका साहित्य–रचनालाई ‘काव्य’ भन्ने गरेको पाइन्छ । तर, साहित्यको विकासक्रमसँगै ‘कविता’ र यसअन्तर्गत पर्ने लयात्मक–गेयात्मक रचनालाई मात्र ‘काव्य’ र चारै विधाका रचना–सिर्जनालाई चाहिँ ‘साहित्य’ भन्न थालिएको पाइन्छ ।– ‘काव्यालङ्कार’ नामक ग्रन्थमा भामहले भनेका छन्– ‘शब्दार्थौ सहितौ काव्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै काव्य अथवा साहित्य हो । मलाइ पनि त्यस्तै लाग्छ ।
समाज रुपान्तरणमा साहित्यको भुमिका कस्तो हुनु पर्छ ?
धेरै रमाइलो प्रश्न सोध्नु भो । समाजको रुप र साहित्य एक पर्यायवाची नै हुन एकअर्का वाट टाढा छैनन् यो मेरो सोच हो ।
समाजमा घटिरहेका कुनै पनि घटना एक कथा भएर जन्मीरहेका हुन्छन, एक मर्मस्पर्सी चेतना मुलक कबिताको रुप धारण गरिरहेको हुन्छ । त्यसो हुनाले झन यसलाई देखादेख संगसंगै लगेको खण्डमा त्यो समाज धेरै छिटो स्वच्छ र असल समाजमा रुपान्तरण हुनेछ ।
–अन्त्यमा छुटेका कुरा केहि छन ?
मानव विकासको मापन साहित्यबाट पनि गर्ने गरिन्छ । साहित्यबाट जीवन र जगतले सकारात्मक आग्रह र अपेक्षा राखेका हुन्छन् । सिर्जना गर्दा के किन कसरी कैले कस्का लागि सिर्जना गर्ने भन्ने बारेमा र्सजक स्वयम् सजग भयो भने समाजले साहित्यबाट केही पाउँछ । साहित्य वा साहित्यकार सबैको साझा सम्पत्ति हो भन्ने कुरा बुझनु र बुझाउनु पनि साहित्य र साहित्यकार कै दायित्व हो । यसबारे म सचेष्ट छु । अन्तमा, अन्तर्वार्ता लिई दिनु भएकोमा तपाइलाई र तपाइको पत्रीकालाइ तथा अन्तर्वार्ता अद्योपान्त पढिदिनु भएकोमा पाठकलाई धन्यवाद दिन चाहन्छु ।
सुसन्देमा साप्ताहिकमा प्रकाशित