काभ्रे विशेषसहकारी बिशेष

अटल पाँचकुण्ड सदस्यको दुख सुखको सबैभन्दा नजीकको साथी हो

सहकारीको अनुगमन र नियमनमा धुलिखेल नगरपालिकाको ध्यान केन्द्रित भएको देखिदैन ।

संस्थाको संक्षिप्त परिचय दिनुस न ?
– २०७३ साल चैत्र १५ गते साबिकको अटल र पाँचकुण्ड साकोस एकीकरण भएर अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि. भएको हो । धुलिखेल र बनेपा कार्यक्षत्र रहेको यस संस्थाको मुख्य कार्यालय धुलिखेल नगरपालिका वडा नं. ४ मा रहेको २८ किलोमा छ र बनेपा ६ स्थित बुडोलमा सेवा केन्द्र रहेको छ । पुर्ण रुपमा समुदायमा आधारित हाम्रो संस्थाले सदस्यको हितका लागि , सदस्य को प्रगतिको लागि र सुखदुखमा साथ दिदैँ सेवा प्रदान गरिरहेका छौँ । ‘सहकार्य गरौँ ,सम्बृद्ध बनौं’ भन्ने मुल नाराका साथ समुदायको हितका लागि हाम्रो संस्था अघि बढिरहेको छ ।

तपाईंहरुको नयाँ सहकारी भएकोले बजार संग प्रतिस्पर्धा गर्न कत्तिको असहज छ ?
– नयाँ सहकारी भन्नु भयो तर नयाँ चाहिँ होइन । २०६४ साल देखि सेवा प्रदान गरिरहेका दुई सहकारीको एकिकरण पछि को अध्याय चाहिँ नयाँ हो । अहिलेको परिबेशमा बजारमा सहकारिको संख्या धेरै भएकोले प्रतिस्पर्धा गर्न असहज भन्दा नि चुनौती छ । सबै नियम र मापदन्डमा चल्ने हो भने खासै फरक पर्दैन तर कतिपय सहकारीहरु सहकारीको मापदण्ड बाहिर रहेर संचालन भैरहेका हुनाले केही असर त छ । जस्तै बढि ब्याज दिने अनि बोल्नै नपाइ ऋण दिने त्यो पनि बढी ब्याजमा जस्ता कार्यहरु सहकारीले गर्दा सहकारीको बिकृती बढ्नुका साथै ईमान्दार सहकारीलाई समेत समस्या पर्ने गरेको देखिन्छ ।

संस्था यस अवस्थासम्म आईपुग्दा ठ्याक्कै तपाईको योगदान चाँहि के हो ?
– सहकारी भनेको धेरै व्यक्तिहरुको सहकार्यमा सफल हुने संस्था हो । संस्थामा आबद्ध प्रतिनिधि, कर्मचारी र सदस्यहरुको सुझाब र सहकार्यले हाम्रो संस्था आज यहाँ सम्म आइपुगेको छ । सबैको उत्तिकै लगनशीलता र मिहिनेतले संस्थाले जिवन्त रुपमा कार्य गरिरहेको छ ।

एक व्यक्ति, एक सहकारी भन्ने नीति सरकारले यतिबेला ल्याएको छ यो ठिक कि बेठिक ?
– एक व्यक्ती ,एक सहकारी भन्ने नीति सरकारले ल्याएको त धेरै नै भयो तर कार्यान्वयन हुन नसकेको मात्र हो । मेरो बुझाइमा यो नीति खासै ठिक हो जस्तो लाग्दैन । यो कार्यान्वयन हुने सम्भावान पनि न्यून छ । सहकारिले समुदायको समस्या बुझ्छ र सहयोग गर्छ ।सरकारको नीतिअनुसार एक व्यक्तिले व्यवसाय गर्न चाहादा अथवा जुनसुकै कार्य गर्दा पनि एउटामात्रै सहकारीले सहयोग गर्छ । धेरै व्यवसायीहरुले धेरैवटा सहकारिबाट ऋणको सेवा लिरहनु भएको छ त्यस्को व्यवस्थापन पनि जटिल छ । त्यो भन्दा पनि सरकारले सहकारीलाइ मात्र सोचेर कति गरिखाने जनताहरु मारमा पर्छन भन्ने पनि सोच्नु जरुरी छ ।

बेला बखत सहकारी संचालकहरु भागेको र सहकारी बन्द भएको घटनाहरु आईरहन्छन् । त्यस्ता घटनाहरुले तपाईहरु जस्तो सफल सहकारीलाई कस्तो असर गर्दछ ?
– यो प्रश्न आउँछ भन्ने लागिरहेको थियो । असर त पर्छ नै, केहि खराब नियत लिएर आएका सहकारी संचालकहरुले गरेर हामी जस्तो ईमान्दार सहकारीलाई समेत शंकाको घेरामा राख्ने संभावना रहन्छ । मेहेनत गरेर बचेको केहि पैसा संचित गर्नका लागि सजिलो माध्यम बनेको सहकारी भाग्ने पो हो कि भन्ने डर सदस्यहरुलाई पैदा हुनु पनि स्वभाविक नै हो । किनकी सबैलाइ आफ्नो पसिनाको कमाइको माया र महत्व हुन्छ । सानो सानो धन पनि संचित गरेर भबिस्यको लागि एउटा बाटो बनाइरहेका हुन्छन । सरकारको कडा नियमन र अनुगमनको कमिले गर्दा पनि यस्तो अवस्था सिर्जना भएको छ । त्यसैले म सदस्य महानुभाबहरुलाइ कमाउन गार्हो छ र त्यस्को संचय झनै जटिल कुरा हो । संस्थालाइ पुर्ण रुपमा बुझेर , प्रलोभनको भरमा संस्था नरोज्न आग्रह गर्दछौ ।

सहकारी विभागको सन्दर्भ ब्याजदरको विषयमा के भन्नु हुन्छ ?
– सन्दर्भ ब्याजदरको बिषयमा मेरो सकारात्मक सोच रहेको छ । पुर्ण रुपमा सदस्य सेवामा समर्पित रहेका सहकारीहरुको लागि निकै राम्रो कदम हो । आय आर्जन गर्ने सदस्यहरुको लागि सहयोगी भएको छ । यो बिषयले बचत संकलनमा केही असहजता देखाउला तर त्यो भन्दा पनि समुदायको बिकाश र सदस्यहरुको उन्नती र प्रगतीको लागि विशेष सहयोग पुग्छ भन्ने मेरो व्यक्तिगत धारण रहेको छ ।

अनुगमन र नियमनमा धुलिखेल नगरपालिका कस्तो रहेको देख्नुभएको छ ?
– यो बिषयमा धुलिखेल नगरपालिकाको त्यति चाँसो पाइएको छैन। धुलिखेल नगरपालिकामा सहकारीको संख्या पनि धेरै छैन तर पनि अनुगमन र नियमनमा यस नगरपालिकाले बेवास्ता नै गरेको जस्तो लाग्छ ।

आय आर्जन र रोजगारीका लागि के कस्ता कार्यहरु भए ?
– हाम्रो संस्था सधै सदस्यहरुको उन्नती प्रगतिको लागि तत्पर रहेको र अहिले सम्म हामिले सदस्यहरुको आय आर्जन र रोजगारिको लागि पनि सहयोग गर्दै आएका छौँ। यस संस्थाले थोरै ब्याजमा ऋण प्रवाह गरेर एउटा सहज मार्ग तयार पारेको छ । कृषि क्षेत्रमा, बैदेशिक रोजगारिको लागि, व्यापार ब्यवसाय र साना साना आय आर्जन गर्नेखालका काम हरुमा लगानी गरेर सहयोग गरिरहेको छ । विभिन्न खालका शिपमुलक तालिमहरु जस्तै सिलाई बुनाइ , कुक तालिम, जस्ता तालिमहरुपनि संचालन गरिरहेका छौ र भविष्यमा पनि यस्ता खालका आय आर्जनका अझ सहज कार्यक्रमहरु लेराउने प्रयासमा सधै लागिरहने छौ ।

सहकारी क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
– म सहकारी क्षेत्रमा प्रबेश गरेको धेरै त भाको छैन तर पनि म पहिला काम गर्ने ठाँउमा मेरा अग्रज र मेरा अन्य मित्रहरुको सहयोगले केही सिक्ने मौका पाएँ । मेरो दिदी पनि सहकारीमा हुनुहुन्थ्यो र उहाँ बाट पनि धेरै कुरा सिक्ने मौका मिल्यो र अब पढाइ पनि त्यहि अनुसार भयेकोले सहकारीलाई रोजे र २०७६ साल बैशाख १५ गते देखि यो क्षेत्रमा प्रवेश गरियो । अहिले पनि सहकर्मी साथीहरु र अग्रजहरु बाट साथ र सहगोय पाइरहेको छु र सधै बिना स्वार्थ लागिरहनेछु ।

अटल पाचकुण्डले अन्य साकोस भन्दा फरक के कार्य गरेका छ जस्तो लाग्छ ?
– व्यवस्थापकिय स्वारुपका कारण अटल पाँचकुण्ड साकोस अरु भन्दा भिन्न छ । समुदायको हितको लागि बिना स्वार्थ हाम्रो संस्था लागि परेको छ । संस्थाले सदस्यहरुको चाहना ,आवस्यकता र भावना अनुसार विभिन्न सेवाहरु प्रदान गरिरहेको छ । न्युनतम ब्याजदरमा ऋण प्रबाह गरेर आय आर्जनको बाटोलाइ सजिलो बनएको छ । दिर्घ रोगहरुको लागि आर्थिक सहयोग, सदस्यको मृत्यु पश्चात् सम्बन्धित परिवारहरुलाइ सहानुभुतीस्वरुप आर्थिक सहयोग, निशुल्क दुर्घटना बिमा, सुत्केरी महिला सदस्यहरुको लागि पौष्टिक आहाराको लागि सहयोग, मोबाइल बैंकिङ र हालसालै बिप्रेषन सेवा पनि प्रदान गरिरहेको छ । हालसालै पनि समुदायको अवस्था बुझेर धुलिखेलमा अवस्थित ’हेल्प नेपाल’ र ’नैमिशारण्य गुरुकुल ’ मा संस्थाको चौथो बार्शिकोत्सबको अवसरमा स्टेसनरीका सामाग्रीहरु बितरण गरेको छौ । यो संस्था पुर्ण रुपमा समुदायमा आधारीत छ ।

सदस्यको आर्थिक विकासका लागि के कार्य गर्नुभएको छ ?
– यस प्रश्नको सन्दर्भमा अघि पनि धेरै कुरा भएसकेको छ । सदस्यहरुको आर्थिक विकासको लागी सिपमुलक तालिमका कार्यक्रमहरु गरेका छौँ । ब्यवसाय तथा अन्य कार्यहरुको लागि सदस्यहरुको योजनाहरु सुनेर बुझेर निरिक्षण गरेर उहाँहरुको आर्थिक विकासको लागि कामहरु गरिरहेका छौँ । भविष्यमा पनि अझ सरल हुने खालका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउँदछौ ।

सरकारबाट तपाईहरुको अपेक्षा के हो ?
– सरकारबाट अपेक्षा अब सहकारीको हितको लागि र त्यस भित्र जोडिएका सदस्यहरुको हितको लागि नयाँ नीति र कार्यक्रमहरु ल्याइयोस । सहकारीले राष्ट्रको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउने हुँदा र समाज बिकासमा सहयोग हुने हुँदा यसलाइ कमजोर भन्दा नि सुदृढ बनाउने खालका नितिहरु ल्याईयोस भन्ने हो । अनुगमन र नियमन पुर्ण रुपमा होस र ब्यवस्थित हुने खालका कार्यक्रमहरु संचालन हुन् ।

अन्तमा मिडियामार्फत के भन्न चाहानुहुन्छ ?
– सेवा जस्तो पनि दिन सकिन्छ तर म भन्ने भावना त्यागेर यो क्षेत्रमा लागिसके पछि हामी र हाम्रो भन्ने भावनालाई आत्मसाथ गरेर समुदाय र देश बिकाशमा आफ्नो भुमीका देखाउनु आजको आवश्यकता हो । स्वच्छ मनले सेवा गरौँ र अन्त्यमा मेरा केही भनाईहरु राख्ने अवसर दिनु भएकोमा सहकार्य मिडियालाई धन्यवाद दिन चाहन्छु । मलाई सहयोग गर्नु हुने सम्पुर्ण लाई धन्यवाद दिन चाहन्छु ।
जय सहकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *