समाचार

केही घरायसी कुराहरू…

कृष्ण प्रधान
शरीर सामान्य बिसञ्चो भयो कि डाक्टरकहाँ दुगुरिहाल्ने देशानले भेटेको छ अचेल हामी सबैलाई । ’द्याबिट इज द सेकेण्ड नेचर इन द यूनिभर्स्’ भनिन्छ । डाक्टर थापासित घरेलू समम्बन्ध छ मेरो । उनी हाम्रा फेमिली डाक्टर । बेला–बखत डाक्टर थापाबाट स्वास्थ्य सम्बन्धी सुझावहरू लिई बस्छु । यसबाहेक पनि हाम्रो बेला–बखत गफ–ठट्टा पनि चल्छ । यसै पनि म मान्छे उटपटाङ् । कहिले काहीँ उटपटाङ् कुरा गरेर उनलाई भक्कुचूर हँसाउने बानी लागेको छ मलाई । उनी पनि मैले ठट्टा गरेको मनपराउँछन् । यसरी नै एकदिन डाक्टर थापासित गफ चल्दै थियो । मैले नितान्तै व्यक्तिगत प्रश्न गरेँ – डाक्टर थापा ! तपाईले मलाई कस्तो देख्नुहुँदैछ ? आई मीन मेरो आउटलुक ।
गम्भीर मुद्रामा उनी बोले – राम्रो देख्दैछु । हेल्दी । हाइब्रिड गरेको ज्यूँदो मागुर माछाजस्तो । हृष्टपुष्ट; जल्दाबल्दा ; झर्झराउँदा ।

मेरो उदगार पोखेँ – मलाई हेल्दी ; हृष्टपुष्ट ; झर्झराउँदा देख्नुहुँदैछ होइन ? त्यसो भए लु सुन्नुहोस्, मैले के–के पहिरिएको छु…आई मिन मेरो ड्रेसअप । पहिलो कोटिङ् भगवानले उपहारस्वरुप दिएका चमड़ा आई मिन स्किन् । जन्मिने बित्तिक्कै मानिसले लिएर आउँछन् यो चमड़ा । सर्वाङ्ग देखाउँदै म बोल्दै गएँ – यो भित्र तपाई डाक्टरहरूको विशाल गाड़्धन छ ।
हँ…!! गाड़धन ?? – डाक्टर आश्चर्यचकित हुँदै श्वास पनि नबिसाई बोले ।

सुस्तरी बोलेँ म – भगवानले कृपापूर्वक दिएका यो चमड़ा ज्याकेटभित्र जत्ति पनि मालहरू थुप्रेका छन् ती सबै लिभर, गल ब्लडर, किड्नी, हर्ट, लङ्गस्, थोत्रे भइसकेका एपेण्डिक्स, आन्द्राभुँड़ी, पचाउनी, भित्र्याँस, झ्याँते अर्थात् कर्चीमर्ची, स्टोमक, कोलन, सेमिकोलन, इण्भर्टेड कमा, फुलस्टप सबै–सबै तपाईहरूको गाड़धन हुन् । जहाँ–जहाँ डाक्टरको हात स्पर्श हुन्छ त्यहीँ–त्यहीँबाट दमड़ी झर्छ । चमड़ाभित्रका यी मालपत्रहरू तपाईहरूकै सम्पत्ति हो । हामी ता यसको केयरटेकर मात्रै । कसरी भन्नुहुन्छ होला डाक्टर थापा ! सुन्नुहोस् डाक्टर साहेब ! म हजूरलाई वृतान्त नालीबेली बताउँछु । हाम्रा शरीरभित्रका मालपत्रहरूलाई तपाई डाक्टरहरूले सामान्य स्पर्श गरे कि पैसा बटटट…झर्नु थालिहाल्छ । तपाईहरूको यो सम्पत्तिलाई चमड़ाको झोलाभित्र हालेर हिँड़्नु मात्रै हाम्रो काम हो बस् । यसभन्दा बढ़ी अरु थोक केही होइन ।

सामान्य झोंक्किएको जस्तो भावमा डाक्टर बोले – ह्वाट डु यू मिन ?उनको हात मुसार्दै सुस्तरी बोलेँ म – तपाई डाक्टरहरूको आ–आफ्नै थेगो वा कोड वर्ड छ । जस्तो– ठूलो प्लेट, सानो प्लेट, काँटा–चम्ची–छुरी, न्यापकिन्, स्यालाड । सामान्य गफ गर्दा–गर्दै फिनिस्ड । त्यसपछि बगुन्द्रो बील । परिवारले बील तिर्नै प¥यो । अच्छा…डाक्टर थापा ! अप्रेशन गर्दाहुँदी डाक्टरहरूले अप्रेसन थियेटरमा आतङ्कवादी वा माओवादीजस्तो मुखमा किन पट्टी बाँध्छन् ?

मेरो प्रश्न सुनेर डाक्टर थापा एकक्षण अरकच्चै परे । निकै बेरसम्म घोरिएपछि गम्भीर मुद्रामा बोले – हामीले अप्रेसन थियेटरमा मुखमा पट्टी बाँघेर ऐना कहिल्यै हेर्दैनौं क्या ! खै आतङ्कवादी देख्छ कि माओवादी जस्तो देख्छ कि के जस्तो देख्छ– लु मलाई थाहा भएन सर । लु तपाईले नै भनिदिनोस् न अप्रेसन गर्दा डाक्टरहरूले मुखमा किन चैं पट्टी बाँध्छन् ?
निरन्तर बोल्दै गएँ म –गतिलो क्लाइण्टको अप्रेसन गर्न पाउँदा गतिलै लटरी फँस्यो भनेर खुशीले हाँस्न नसकोस् भनेर नि ! कथङ्कल हाँसिहाल्यो भने पनि जुनियर डाक्टर र अप्रेसन थियेटरमा तैनात सिष्टरहरूले डाक्टर हाँसेको नदेखोस् भनेर नि…अरु ता के हुन्थ्यो र ?

डाक्टर थापा घरै उचाल्ने गरी हाँसे – हा….हा…हा….हा….
मैले आफ्नै कुरा निकालेँ – ठण्डा मौसममा हजूरल मलाई अझै हेल्दी…राता–पिरा…मोटा न मोटा पुष्टिएको देख्नुहुनेछ ।
डाक्टर साहेबको जिज्ञासा –कसरी…कसरी !

मैरो स्पष्टिकरण – भगवानले दिएका ओरिजिनल चमड़ामाथि पिटी भेष्ट, त्यसमाथि कमिज, कमिजमाथि हाफ स्वेटर, स्वेटरमाथि कोट । यसलाई के भनिन्छ भन्नुहोस् ता हजूर ।
मुस्कुराउँदै डाक्टर बोले – लुकिङ ह्याण्डसम् एण्ड सो स्मार्ट । होइन र ?

डाक्टर थापाको कुरालाई खण्डन गर्दै प्याच्चै बोलेँ म –अहँ….नो…नो….द्याट इज नट अ करेक्ट अन्सर मिष्टर थापा नट अ करेक्ट अन्सर । यसलाई प्याज भनिनछ…प्याज…ओनिअनÞ क्या ओनिअनÞ ।
छक्कै पर्दै डाक्टर साहेबको प्रश्न – ओनिअन ! हाऊ ?
श्वासै नबिराई बोलेँ म – यस् ओनिअन सर प्यूर ओनिअन ।
आँखा ठूल्ठूला पार्दै डाक्टर बोलेँ – ओनिअन ??

मैले बठ्याइँ देखाउँदै बोलेँ – अभियसली ओनिअन सर ! म तलबाट माथि उक्लेको हुँ । तपाई अब माथिदेखि तल ओर्लिनोस् । आफूलाई प्याजजस्तो छोड़्याउँदै जानोस् । पहिले कोट खोल्नोस्, हाफ स्वेटर खोल्नोस् त्यसपछि कमिज, कमिजपछि पिटी भेष्ट खोल्नोस् । एउटा सद्दे कङ्काल उपस्थित हुनेछ । प्यूर गोर्खे कङ्काल । यसमा भेजाल र दुइ नम्बरीको प्रश्नै छैन । हेर्नोस् डाक्टर बाबु ! पञ्जाबी कङ्काल भएको भए यो हाड़ मोटो र गतिलो हुन्थ्यो । जाँड़–रक्सी सोँड़क्याउने, भुटेका बासी भात ग्वाम्–ग्वाम् डम्काउने मध्यवित्त पहाड़े कङ्काल घन्य यतिको ता छ पो ।

म नन् स्टप बोल्दै गए –गोर्खे कङ्काल छाम्नोस् ता पूर्णाङ्ग कङ्कालमाथि हात सल्बलाउनोस् । पहिेले भुँड़ी छाम्नोस्…गोर्खे भुँड़ीभित्र रोगको भँड़ार पाउनुहुनेछ । भुँड़ीभित्र थरि–थरिका मालहरू बेस्सरी, खाँदी–खाँदी लोड गरिएकाले गोर्ख कङ्कालको भुँड़ी जहिल्यै पनि हर–हमेशा झोलिएको पाउनुहुनेछ । बोसै–बोसोको खानी । त्यसपछि छात्ती छाम्नोस्…कुखुरे छात्ती । छात्तीभरी भुत्लै–भुत्ला पाउनुहुनेछ…नस्याहारेको धानखेतजस्तो । करङ् हेर्नोस्….हारमोनिय वा पियानोको रिड हेरेर हेर्नु पर्दैन । हारमोनियमको रिड थिच्दा सरेगामापाधिनिसाको धुन निस्किन्छ तर गोर्खे कङ्कालको करङ थिच्नुभो भने कुतकुती लागेर ऊ खितिति हाँसेको सुन्नुहुनेछ । त्यसपछि फिला छाम्नोस्…हरेश लाग्छ । त्यसपछि घूँड़ा । पाङ्ग्राको ता कुरै नगरे हुन्छ डाक्टर थापा । घूँड़ाको पाङ्ग्रा ह्विल कभर निस्केको बाइकको चक्काजस्तै भेट्नुहुनेछ । अनिÞ नलीखुट्टा छाम्नोस्…कप्टेरो बाँस हेरेर हेर्नै नपर्ने । हुनु पनि हो नि डाक्टर थापा….पक्कै हो । रक्सी, जाँडज, रेड मिट, ह्वाइट मिट आदि बाहेक ड्रग्स, ब्राउनÞ सुगर पचाउने गोर्खेको कङ्काल कस्तो पो होस् ता अनि । घिउ, दूध, दही–मही, मह आदि घोकेका भए पो यो गोर्खे कङ्काल माड़वाड़ीको जस्तो हुनेत्यो । होइन र ?

मेरो कुरा सुनेर डाक्टर थापाले मलाई लाटाले पापा हेरे झै वाल्लै परेर हरेका हेर भए । म आफू ठहरेँ बोलाइला स्वाभावका व्यक्ति । फेरि बोल्न थालेँ – अच्छा डाक्टर साहेब ! के तपाई भन्नसक्नुहुन्छ म किन यति धेर बोल्छु ?
–किन नि ? खै मलाई थाहा भएन नि सर !

मैले थपेँ – मेरा छेउमा कोही नभएका बेला म एक्लै गनगन गरिबस्छु । थापा बाबु यो कुन अनि कस्तो रोग होला ? मलाई ता कोही कोही बेला सारै सुर्ता पो लाग्छ ।

गम्भीर भावमा डाक्टर थापा बोले – सुर्ताउनु पर्दैन । यस्तो अभ्यास धेरैको हुन्छ । अच्छा तपाईँलाई मैले निंद्रा लाग्ने ट्याबलेट दिएको थिएँ नि…खाँदै हुनुहुन्छ होइन ?

अकमकिँदै बोलँ म – डरले खाएको छैन नि डाक्टर थापा ।
ठूलो स्वरमा डाक्टर बोले – के को डर ? सामान्य पावरको ता हो । ह्याङ्ओभर हुने वा रिएक्सनको कुनै डर छैन । डण्ट वरी ।

मैले स्पष्टिकरण दिएँ – निंद्राको ट्याबलेट खान मलाई डर लागेको पनि कारण छ, एउटा कथै छ । त्यसो भए सुन्नोस् । पहिले–पहिले ता त्यो ट्याबलेटले निक्कै काम गरÞ्यो । रातभरी सपना देखँ । सपनामा एकदिन समुद्र छेउमै पुगेछु डाक्टर साहेब । स्वीमिङ सूट पहिरिएकी एक हूल सन्दरी युवतीहरू मसित इत्रिएका देख्दैछु….उनीहरू मलाई जिस्काउँदैछन्…म उनीहरूलाई सिरियस भएर खेददैछु…बत्तीस दन्त देखाउँदै…छिल्लिँदै मदेखि भाग्दै समुद्रमा झ्वाम्मत…झ्वाम्म हाम फालेकी देख्दैछु ।

मक्ख परेर मेरो कुरा सुन्दै डाक्टर थापा रोमान्सेली भावमा बोले – लु भन्नोस् ता…तपाईलाई कस्तो राम्रो ट्याबलेट दिएको रहेछु । यो उमेरमा कति आनÞन्द…आहा….कति रोमाण्टिक ट्रिप । फेरि तपाईँ कति भाग्यमानी पुरुष । सो लक्की यू आर ।
दिक्क मान्दै म बोलेँ – के को लक्की ? अझै के के देख्छु..देख्छु भनेर तपाईँले दिएका निद्रा लाग्ने ट्याबलेट एकखैपमा ६ ÷ ६ वटा मरक् मरक् चपाएर सुतिदिएको थिएँ….खै मोरीहरू एकै दिन पनि आएनन् हौ ।

डाक्टरलाई विन्ति बिसाएँ – डाक्टर थापा ! कृपया मलाई यस्तो खाले फ्री सेम्पल दबाई ३ ÷ ४ फाइल दिइराख्नोस् न ।
सिग्रेट सल्काउँदै डाक्टर थापा बोले –कृपया भनेर मलाई लज्जित नबनाउनुहोस् न प्लिज । तपाईहरू जस्तालाई सेवा गर्नु हाम्रो परम धर्म हो । यसपाली सरलाई अर्कै कम्पनीको फ्री सेम्पल दिन्छु ।

अत्तालिँदै बोलेँ म – नो…नो…त्यो फ्री सेम्पलले नै मेरो निंद्रा चित् भएको हो डाक्टर थापा ।
डाक्टर साहेब मुस्कुराउँदै प्रश्नको पहाड तेर्स्याउँदै बोले – गणेश पो चित् हुन्छन् भन्या सुनेको थिएँ…सपना चैं कसरी चित् हुन्छ हौ सर । मैले ता केही बुझिनँ ।

मैले थपेँ – सस्तो बेसारले पखाला चल्छ भनेको यही हो कि !
डाक्टरल सुझाव दिँदै बोले – जे होस्…यस्ता दबाई सेवन गर्नेले फूल–फूल धेरै मात्रामा खानुपर्छ । यो उमेरमा मिनरल वाटर, भिटामिनको आवश्यकता हुन्छ । अँ तपाईँलाई जुन फल एकदमै मनपर्छ त्यही फल बेस्सरी खानोस् । पहिले फललाई राम्ररी धुनोस अनि बोक्रासितै गमरÞ्यक्याउनुहोस् । बुझ्नुभो सर ? तपाईको निम्ति फलको बोक्रा नै इम्पोर्टेण्ट हो । तपाईलाई सबैभन्दा मनपर्ने फल कुन हो सर ?

तुरुन्तै जवाफ दिएँ – नरिवल ।डाक्टर तर्सिँदै बोले – हँ….नरिवल ?
स्वीकारात्मक मुण्टो हल्लाउँदै बोलेँ – येस डाक्टर । कोकोनट । मेरो देब्रै फिला अच्चाकाली दुख्छ । राति खपिनसक्नु दुख्छ .
डाक्टरको जवाफ – अब केही उपाय छैन सर । यो ओल्ड एजको करामति हो ।
मेरो पाला प्याच्चै भनिदिएँ – माइण्ड नगर्नोस् कि डाक्टर थापा…मलाई ता तपाईको डायगोनिसिस् ठीक नभएको जस्तो पो लाग्यो है ।
नम्र स्वरमा डाक्टर थापा बोले – खै मलाई ता केही गल्ती भएजस्तो लाग्दैन । अब ता तपाईँको उमेर पनि ता भइसक्यो होइन र !
सुस्तरी बोलेँ म – भयो नि त्यो ता । तर देब्रे फिला र दाहिने फिलाको उमेर बराबरी नै हो ता डाक्टर साहब । म जन्मिँदा देब्र फिला बीस मिनट पहिले अनि दाहिने फिला बीस मिनट पछि निस्केन होला कदाचित् । दुइवटा फिला सँगसँगै लिएर जन्मेको हूँ । अनि मेरो दाहिने फिला किन दुख्दैन…दाहिने फिला एकदमै फिट अनि चङ्गा छ ।
डाक्टरको सुझाव – त्यसो भए तपाई कुनै फिला स्पेशलिष्टकहाँ गएर कन्सल्ट गरेकै उत्तम ।
मैले अनुरोध बिसाएँ – हुन्छ डाक्टर थापा तर पहिले तपाईँ मसित मेरो घर जानुपर्छ ।
छक्क पर्दै डाक्टरको प्रश्न – किन होला नि !
मैले बयान दिएँ – लकरको ताला खोल्न सकिराको छैन । मेरा पास बुक, चेक बुक, एटिम कार्ड, भोट कार्ड जति जम्मै लकरमा छन् । यसमा मैले गर्नुपर्नै नै के छ र हजूर ? यस्तो कामको निम्ति तपाईले ताला बनाउनेलाई पो बोलाउनुपर्छ ।
गम्भीर मुद्रामा मेरो उत्तर – कुरा ठिकै हो डाक्टर साहेब ! बट दिस इज योर केस । लकरको साँचो नाति केटोले स्वात्तै निलि पठाएछ । घिच्रामा कतै अड़्केर बसेको छ जस्तो लाग्दैछ ।
डाक्टर थापा केही बोलेनन् ।
जम्ले हात गर्दै निम्न श्लोक भट्याउन थालेँ –
“वैद्यनाथ नमस्तमयः नशिताशेषमानव ।
तुयी विन्यस्त भारोयःसुषुप्तस्वयः मस्तक ।।“
अर्थात्, हे वैग्यानाथ, चिकित्सक सम्राट, हे अगणित मानिसका प्राण संहारकर्त्ता, तपाईँलाई प्रणाम, कारण तपाईमाथि सम्पूर्ण दायित्व सुम्पेर स्वयम् यमराज सुख निंद्रामा मग्न छन् । डाक्टर थापाले मैले भट्याएको श्लोक बुझे वा बुझेनन् थाहा भएन तर उनले मलाई ट्वाल्ट्वाल्ती हेरेको हेर भए ।
सुसन्देमा साप्ताहिकमा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *