आयाम साकोस बनेपाको १३ औ बार्षिक साधारण सभा सम्पन्न
बनेपा । बनेपा नगरपालिकाअन्तर्गत स्थापना भई काभ्रेमा दुई सेवा केन्द्र पाँचखाल र भकुण्डेमा संचालन गर्दै आईरहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं बार्षिक साधारणसभा संस्थाको कार्यालयहरु बनेपा कार्यालय बनेपा–७ चारदोबाटो, पाँचखाल कार्यालय पाँचखाल–४ समाजकल्याणचोक, भकुण्डे कार्यालय नमोबुद्ध–२, भकुण्डेबेशीमा एकसाथ असोज ७ र ८ गते गरी २ दिनमा सम्पन्न भएको छ ।
संस्थाको साधारणसभाको समुद्घाटन संस्थाका जेष्ठ सदस्यहरुबाट दिप प्रज्वलन गरी गर्नुभएको थियो । साधारण सभा कार्यक्रममा ६ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनुहने जेष्ठ सदस्यहरुले संस्थाले आफुहरुप्रति देखाएको सम्मान र स्नेहले निकै खुुसी मिलेको तथा समय समयमा तिर्थाटन कार्यक्रम राखेमा अरु जेष्ठ सदस्यहरु समेत खुसी हुने भावना व्यक्त गर्नुभयो । यसै बिच संस्थाका सचिब डम्बर बहादुर लम्सालले समाजमा ३ किसिमका सहकारी रहेको १,मेरो (निजी कंपनी सरह सञ्चालित) २, आफ्नो (आफ्नै नातेदार इस्टमित्र बिचमा बाबु अध्यक्ष छोरो व्यवस्थापक भई चलेको) र ३, हाम्रो (सबै अट्ने, सबैको साझा र वास्तविक सहकारी) तथा सदस्यले सदस्य बन्नुपूर्व तथा कारोवार गर्दा आफु कस्तो संस्थामा कारोवार गर्दैछु भन्ने पूर्ण जानकारी लिएर मात्र कारोवार गर्न सुझाव दिनुभयो । संस्थाका अध्यक्ष नवराज घोरसाईनेले १३औं साधारणसभाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै संस्था सदैव सदस्य हितमा तल्लिन रहेको र आगामी दिनमा सदस्यहरुको मागलाई ध्यानमा राखि जेष्ठ सदस्य तिर्थाटन, बाल बचतकर्तालाई झोला लगायतका स्टेशनरी सामाग्री वितरण गर्ने, नारी सदस्यलाई प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साकोसको हालसम्म तीन हजार चार सय चौरानब्बे सदस्यहरु रहेका छन् । जसमा २ दिनसम्म सञ्चालित कार्यक्रममा संस्थाका कुल सदस्यमध्ये सत्र सय बयानब्बे जना सदस्य उपस्थित हुनुभएको थियो । जुन तथ्यांक कुल प्रतिशतको ५१.२९ प्रतिशत रहेको छ । आर्थिक बर्ष २०७८÷०७९ को अन्त्य सम्ममा संस्थाले १२,१८,१३,६९९बचत संकलन गरी रु.१२,९०,५९,९०१ कर्जा लगानी गरेको संस्थाले कुल पुँजी रु.१६,३१,९३,५०८ को कारोवार गरेको छ ।

 
			 
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    