समाचार

सहकारीका नाममा ठगी : एकै परिवारको ६४ करोड डुब्यो

काठमाडौंको लगनटोलका देवनारायण महर्जन पेसाले माली हुन् । फूलको स्याहार गरेर कमाएको पैसा उनले कालीमाटीस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभमा जम्मा गरेका थिए । सो सहकारी नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङको हो ।

सहकारीले महर्जनलाई दुई वर्षदेखि सावाँ र ब्याज दिएको छैन । यहीबीचमा सहकारीका सञ्चालक तामाङलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । सहकारीबाट ठगिएकाहरु आफ्नो पैसा पाउने आशामा तामाङलाई थुनिएको प्रहरी कार्यालयमा भिड लाग्न थालेका छन् । र, यही भीडमा भेटिए देवनारायण महर्जन ।

डुबेको पैसा पाउने आशामा महर्जन शुक्रबार महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयमा पुगे । ब्यूरोका अधिकारीले ‘जाहेरी दिनु’ भनेपछि पूर्वसांसद तथा सिभिल सेभिङ्गस एण्ड क्रेडिट को अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङ बिरुद्ध देवनारायणले पनि लाइनमा बसेर जाहेरी दर्ता गराए ।

‘६ लाख फिक्स डिपोजिटमा र १ लाख बचत खातामा राखेको थिएँ’ रातोपाटीसँग कुरा गर्दै देवनारायणले भने, ‘पैसा राखेको ४ वर्ष भयो । दुई वर्ष यता सावाँ ब्याज केही पनि पाएको छैन ।’

पूर्वसांसद समेत रहेका तामाङलाई सीआईबीले असोज १८ मा सुुन्धाराबाट पक्राउ गरेको हो । उनी पक्राउ परेपछि सीआईबीमा उनीविरुद्ध जाहेरी दिनेहरूको लाइन छ । तामाङलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

कालिमाटीमा रहेको सिभिल सेभिङ्गस एण्ड क्रेडिट को–अपरेटिभ २०५७ मा खुलेको थियो । इच्छाराज २०६५ सम्म सो सहकारीको अध्यक्ष थिए । अहिले पनि उनी सहकारीका हर्ताकर्ता हुन् । सो सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ हुन् । इच्छाराज अहिले कार्यकारी अधिकारसहितको सल्लाहकारको भुमिकामा छन् । अर्थात, सहकारीमा उनले जे भन्यो, त्यही हुन्छ ।

सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकमको सावाँ र ब्याज फिर्ता नदिएर ठगी गरेको भन्दै ब्यूरोले उनको समूहविरुद्ध अनुसन्धान गरिरहेको छ । वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष तामाङसहित १२ जना प्रहरीको हिरासतमा छन् ।

सहकारीमा राखेको रकम लामो समय नदिएर इच्छाराजसहितले ठगेको आरोपमा अहिलेसम्म २४३ जनाले उजुरी गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *