राजनीति

प्रदेश २ मा अख्तियारको छापा, मुख्यमन्त्रीले अख्तियार प्रमुखलाई भने – तरिका ठिक भएन

जनकपुरधाम । प्रदेश-२ मा सञ्चालित सम्भवतः सबैभन्दा बढी चर्चा पाएको एउटा सरकारी योजनामा अनियमितताको शङ्का गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागतपत्रहरू नियन्त्रणमा लिएको छ ।
उक्त प्रदेशमा सञ्चालित ’मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्न भनेर किनिएको साइकलको खरिदमा अनियमितताको शङ्का गर्दै अख्तियारले छापा मारेको बताइएको छ ।
अख्तियारका अधिकारीहरूले मुख्यमन्त्री कार्यालयबाट उक्त योजना सम्बन्धी कागजातहरू आफ्नो नियन्त्रणमा लिएका छन् ।
प्रदेश-२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले अख्तियारको उक्त कदमप्रति आपत्ति जनाएका छन् । उनले त्यसलाई प्रदेश सरकारलाई बदनाम गर्ने षड्यन्त्रको आरोप समेत लगाएका छन् ।
मुख्यमन्त्री मोहम्मद लाल बाबु राउतले आफ्नो कार्यालयमा भएको कारबाहीको विरोधमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका थिए ।
बुधवार दिउँसो बर्दिबासस्थित अख्तियारको कार्यालयबाट एउटा टोली प्रदेश-२ को राजधानी जनकपुरस्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेको थियो ।
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत वितरण गरिने साइकल किन्दा अनियमितता भएको उजुरी परेपछि छापा मारेको अख्तियारको भनाइ छ ।
प्रदेश सरकारले सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई वितरण गर्न ती साइकलहरू खरिद गरेको थियो ।
६ जनाको अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी फाइलहरू नियन्त्रणमा लिन साढे तीन घण्टा लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *