बिरामीलाई हेलिकोप्टरकै भर !
रासस
महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडौँ लगियो ।
लामो ‘ब्यथा’ तथा दिसापिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिकोप्टरको व्यवस्थापन गरी प्रसूतिगृह थापाथली लगिएको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए । उनका अनुसार वर्षाले कच्ची सडक विभिन्न स्थानमा क्षति पु¥याएपछि सदरमुकामस्थित अस्पतालमा ल्याउन सम्भव छैन ।
गतसाल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पु¥याइयो । तर हेलिकोप्टर रित्तै फर्कनुप¥यो । विडम्बना, हेलिकोप्टर गाउँ पुग्दैगर्दा उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । उनको थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उनी बच्न सकेनन् ।
वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ । हेलिकोप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ । डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महङ्गो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ ।
मनसुन सुरु भएसँगै बाढीपहिराले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकोप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खुलालले बताए । “पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहजता भएको छ”, उनले भने ।
भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेका डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । महाभारतका अध्यक्ष जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्छन् ।
हेलिकोप्टरबाट बिरामी÷गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हवाई अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौँ लैजानुपर्ने अर्को बाध्यता रहेको छ ।