मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन
डराउनेपोखरी (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं. ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले शनिबार आयोजित एक समारोहका बीच कार्यालय भवनको उद्घाटन गरेका हुन् । नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको पक्की प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पु¥याउने क्रममा आर्थिक बर्ष २०७७/७८ मा एकसाथ पाँच वटा वडा कार्यालय भवन निर्माण गरेको थियो । त्यसमध्ये वडा नं. २, वडा नं. १० र वडा नं. ११ को कार्यालय भवन यसअघि नै निर्माण सम्पन्न भई उद्घाटन भइसकेको छ । शनिबार वडा नं. ८ को भवन उद्घाटन भएसँगै अब वडा नं. ९ को भवन उद्घाटन हुन बाँकी रहेको छ । उक्त भवनको निर्माण कार्यसमेत सम्पन्न भइसकेको छ ।
यसअघि नै वडा नं. ३ र ६ को वडा कार्यालय निर्माण भइसकेको छ भने चालु आर्थिक बर्षमा वडा नं. १, ४ र ५ को भवन निर्माणको ठेक्का सम्झौता भएको छ । वडा नं. ८ को भवन निर्माणका लागि भ्याटबाहेक ४१ लाख १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि नै आफ्नो निर्वाचन क्षेत्र तथा समग्र नमोबुद्ध नगरपालिकाको विकास र समृद्धिको लागि लागिपरेको बताए । नमोबुद्ध नगरका हरेक टोलसम्म आफूले सक्दो योजना तथा बजेट पु¥याएको बताउँदै लामाले आगामी दिनमा पनि समृद्ध नमोबुद्धको सपना साकार पार्न प्रतिवद्ध भएर लाग्ने बताए । जनअपेक्षाअनुसार काम गर्न सके मात्रै आफू निर्वाचित हुनु र मन्त्री बन्नुको औचित्य सावित हुने भन्दै उनले जनअपेक्षा पुरा गर्न हरपल लागिपर्ने बताए । नमोबुद्धमा सडक, खानेपानी सिञ्चाई लगायतका सुविधाका लागि आफूले सक्दो काम गरेको उनको भनाई थियो । आफू मन्त्री बनेको भोली एक महिना पुरा हुने बताउँदै लामाले कृषि, सहकारी क्षेत्रको विकासका लागि कार्ययोजना निर्माण गरिसकेको र त्यसलाई क्रमश कार्यान्वयनमा लैजाने बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाको प्रमुख प्रशासकीय भवन, सबै वडा कार्यालयको पक्की भवन, स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न हुने क्रममा पुग्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलव्धी भएको बताए । नगरमा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटन क्षेत्रको विकाससँगै समृद्ध नगरको सपना साकार पार्न आफूहरु लागिपरेको उनको भनाई थियो । नगर प्रमुख तिमल्सिनाले नगरको गौरवको रुपमा मेथिनकोट अस्पताल प्रदेश अस्पतालको रुपमा स्तरोन्नति भएको, उक्त अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको, दाप्चा सडक कालोपत्रे भएको बताए । नगरका सबै वडामा सडक निर्माणको काम तीब्ररुपमा अघि बढेको तथा दाप्चाबाट नगरपालिकाको केन्द्रसम्म पुग्ने सडक पक्की बनाउन काम भइरहेको उनले बताए ।
यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गाउँगाउँमा सिंहदरबारको नारालाई व्यवहारमै कार्यान्वयन गर्न, नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्नका लागि सबै वडाको कार्यालय भवन निर्माण भएको बताए । भौतिक पूर्वाधारको निर्माणमा नमोबुद्ध नगरपालिकाले एक कदम अघि रहेर काम गरेको तथा नागरिकलाई सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयबाट तथा अनलाइनमार्फत घरबाटै राजस्व तिर्नसक्ने व्यवस्था गरिएको पौडेलले बताए । यस्तै वडा नं. ८ का वडा अध्यक्ष शेरवहादुर तामाङले आफू निर्वाचित भएपछि वडामा सडक, विद्यालय, स्वास्थ्य संस्था निर्माणको काम तीब्र रुपमा अघि बढाइएको बताए । सबै सरोकारवालाको साथ र सहयोगले वडामा विकासको काम निरन्तर अघि बढिरहेको तामाङको भनाई थियो । वडामा आउने सानो बजेटले ठूला योजना कार्यान्वयनमा समस्या भए पनि अन्य निकायको सहयोगमा वडामा सडकको स्तरोन्नति, विद्यालय निर्माण स्वास्थ्य संस्था निर्माण लगायतका काम गरिएको उनको भनाई थियो ।
कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, नमोबुद्ध नगरपालिका वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, तत्कालिन डराउने पोखरी गाविसका पूर्वअध्यक्ष उद्धवप्रसाद हुमागाईं लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई मन्त्री नियुक्त भएकोमा बधाईसहित सम्मान गरिएको थियो । सञ्चारकर्मी उपेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा दाप्चा सडक निर्माण गर्ने ठेकेदार कम्पनीका प्रोप्राइटर धर्म लामा, इन्जिनियर अनिल पौडेल, महिला स्वास्थ्य स्वंयसमेविकाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्षहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
फूलबारी–काँक्रे सडकको उद्घाटन
शनिबार नै बागमति प्रदेश सरकारका मन्त्री चन्द्र लामाले फूलबारी–नमोबुद्ध–दाप्चा–तल्लो
संविधानसभा सदस्य रामहरि सुवेदीको कार्यकालमा डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण सुरु भएको सडक कालोपत्रे गर्ने काम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएसँगै आर्थिक बर्ष २०७७/७८ मा सकिएको हो । पूर्वाधार विकास कार्यालयमार्फत २०७४ असार ८ गते सम्झौता भई सडक निर्माण सुरु भएको थियो ।
सडकको उद्घाटन गर्दै मन्त्री चन्द्र लामाले सडक कालोपत्रे गर्नका लागि आफू निर्वाचित भएदेखि नै लागिपरेको र त्यसैको परिणामस्वरुप सडकको योजना सम्पन्न हुने चरणमा पुगेको बताए । उक्त सडकलाई काँक्रे हुँदै विपी राजमार्गको चरंगेफेदीसम्म जोड्ने योजना पनि अघि बढिसकेको पनि उनले जानकारी दिए । सडक कालोपत्रे भएपछि दाप्चा क्षेत्रका नागरिकका लागि यातायात सुविधामा थप सहजता आएको उनले बताए । मुख्य सडकसँगै सहायक सडक निर्माणको काम पनि अघि बढाइएको उनले बताए । कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदीले बर्षौंदेखि निर्माण हुन नसकेको सडक आफ्नो कार्यकालमा निर्माण सुरु भएको र अहिले आएर सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले दाप्चा सडक निर्माणका लागि पहल गर्ने संविधानसभा सदस्य रामहरि सुवेदी, प्रदेश सरकारका मन्त्री चन्द्र लामा लगायतप्रति आभार प्रकट गरे ।
कार्यक्रममा पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले सडक निर्माणको प्राविधिक पक्षका विषयमा जानकारी गराएका थिए । नमोबुद्ध नगरपालिका वडा नं. १ का अध्यक्ष कर्म ग्याल्बो लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम वडा नं. ११ का अध्यक्ष कृष्णवहादुर तामाङले सञ्चालन गरेका थिए ।