समाचार

युवा उद्यमीहरुद्वारा भकुण्डेमा ‘द मःम फ्याक्टरी’ सञ्चालन, सांसद दोङद्वारा उद्घाटन

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ७, भकुन्डेमा युवा उद्यमीहरूद्वारा ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएको छ । नमोबुद्ध नगरपालिकाकै मुख्य बजार तथा भकुण्डेबजार स्थित बिपी राजमार्गको छेवैमा ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएको हो ।

‘द मःम फ्याक्टरी’ को प्रतिनिधि सभा सदस्य सांसद गङ्गाबहादुर दोङ (बमध्वज) ले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । आजबाट शुभारम्भ भएको ‘द मःम फ्याक्टरी’को सांसद दोङले रिबन काटेर उद्घाटन गरेका थिए भने लामा गुरुले पूजापाठ समेत गरेको थियो ।
उद्घाटन पछि सांसद दोङले भकुन्डे बजारमा ‘द मःम फ्याक्टरी’ को सञ्चालनमा ल्याएकोमा युवा उद्यमीहरूलाई धन्यवाद दिए । दोङले ‘द मःम फ्याक्टरी’ सञ्चालन गरेर रोजगारको सिर्जना मात्र गरेको नभई युवाहरूलाई उद्यमी बन्न प्रेरणा समेत दिएको बताए । ‘म युवा उद्यमी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु । यो सञ्चालन गरेपछि यसले रोजगार मात्र सिर्जना गरेको छैन, युवाहरूलाई उद्यमी बन्न प्रेरणा समेत दिएको छ ।’ उनले भने, ‘पुँजीवादको पूर्ण विकास गर्दै वैज्ञानिक समाजवादमा जानलाई पुँजी निर्माण गर्नुपर्ने छ । हरेक युवा उद्यमी बन्यो भने समाजवादी क्रान्ति हाम्रै पालोमा सम्पन्न हुनेछ ।’

सरकारको तर्फबाट गर्नुपर्ने सहयोग सदैव गर्नका लागि समेत आफूले सरकार समक्ष माग राख्ने उनले प्रतिबद्धता जाहेर गरे ।
बिपी राजमार्गकै छेउमा भएकोले काठमाडौँदेखि पूर्व चल्ने यात्रुहरूले समेत यहाँबाट सेवा लिन सक्ने छ ।

करिब १ करोड लगानी
भकुन्डे बजारमा सबैभन्दा ठूलो लगानी गरेर युवा उद्यमीहरूले ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएको हो । ७ जना युवा उद्यमीहरू मिलेर सञ्चालनमा ल्याएको यस मम फ्याक्टरमा करिब १ करोड लगानी गरेको सञ्चालक वीरमान लामाले जानकारी दिए ।
काभ्रे जिल्लाको रोशनी गाउँपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, धुलिखेल नगर पालिकाकाको केन्द्र भागमा रहेको यो बजारमा ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएपछि ममका ‘आइटम’हरुका लागि अरू स्थानमा पुग्नु नपर्ने सञ्चालक लामाले बताए ।

काठमाडौँदेखि सुदुरपूर्वसम्मको यात्रा यसै बजारबाट हुनेभएकोले आफूहरूले सञ्चालन गरेको ‘द मःम फ्याक्टरी’मा ग्राहकको रुचि अनुसारको खानेकुराको व्यवस्था गरेको उनको भनाई छ ।
‘द मःम फ्याक्टरी’ मा बर्गर बाहेक सबै खालको खानेकुराको स्वाद लिने सक्ने उनले जानकारी दिए । ‘मःम मात्र यहाँ ३५ ‘आइटम’को पाइन्छ । हामीले ‘हाइजेनिक’ मा जोड दिएका छौँ ।’ सञ्चालक लामाले भने, ‘सुदुरपूर्वदेखि काठमाडौँसम्मको यात्रा यहीँबाट गर्नुपर्ने भएकोले थकान मेटाउन, रुचि अनुसार खानेकुरा खानको व्यवस्था गरेका छौँ ।’


‘द मःम फ्याक्टरी’ युवा उद्यमीहरू पेमा लामा, वाङच्यु लामा, प्रशान्त खनाल, विजय लामा, अप्रिल लामा, लावाङ लामाले सञ्चालनमा ल्याएको हो ।
उद्घाटनमा नेपाली काँग्रेसका नगर सभापति कुन्छाङ लामा, नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मेलबहादुर लामा, वडा नं. १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामा लगायत, विभिन्न राजनीतिक दलका नेताहरु, व्यवसायीहरु, सर्वसाधारणहरु पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *